कमिशनमा ठेक्का बेच्दा स्वास्थ्य चौकीको भवन अलपत्र

गोगनपानी (दैलेख) । कमिशनमा ठेक्का विक्री गर्दा दैलेखको एक स्वास्थ्य चौकीको भवन सात वर्षदेखि अलपत्र परेको छ । गुराँस गाउँपालिका– ५ गोनपानीमा रहेको स्वास्थ्य चौकीका भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राहीलाई सेवा लिन र दिन सास्ती भएको हो ।


मजदुर कम्पनी सुर्खेत र श्रीरुवा कम्पनीले ठेक्का पाएको भवन सात वर्षदेखि बन्न सकेको छैन् । यी दुवै कम्पनीले पाएको ठेक्का पेटीमा दिएपछि अलपत्र परेको गुराँस गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्रकुमार महतराले जानकारी दिए । एक करोड ४५ लाख लागतको भवन निर्माण कम्पनीकै लापरवाहीले अलपत्र परेको वडाध्यक्ष महतरा बताउँछन् । ‘समयमै काम सक्न पालिकाबाट तोकता गर्दापनि अझै काम बाँकी छ,’ वडाध्यक्ष महतराले भने, ‘कालिकोटका दुई जना भाईलाई पेटीमा ठेक्का लिएका रहेछन्, रकम अभाव भएपछि उनीहरु पनि भागेपछि काम अपूरै छ ।’

सेवा दिनै सकस
नयाँ भवन समयमै नबन्दा वर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने महिलालाई सेवा दिन समस्या भएको स्वास्थ्य चौकी गोनपानीका सिअनमी उत्तरा केसीले बताइन् । अहिले चर्किएको भवनबाट गोनपानीका नागरिकहरुले सेवा लिन बाध्य छन् । ‘प्रयाप्त ठाउँ नहुँदा वर्थिङ्ग सेन्टरमा प्रयाप्त वेडहरुको राख्न समस्या छ,’ सिअनमी केसीले भनिन्, ‘हजुरहरुले देखिसक्नु भयो ग्रामिण महिला उत्थान केन्द्रको चर्किएको भवनबाट सेवा दिइरहेका छौं । पानी पर्दा भत्किएपछि मरिन्छ की भन्ने त्रासका विच यहाँ महिलाहरुलाई स्वास्थ्य उपचार गरिरहेका छौं ।’ केसीकाअनुसार सुविधा सम्पन्न नयाँ भवन समयमै नबन्दा जीर्ण भवनबाट महिलाहरुको गोपियनियता कायम राख्न हैरानी हुन्छ ।

वडाध्यक्ष महतराकाअनुसार निर्माण कम्पनीका राजु सापकोटालाई काम सक्न ताकेता गरिरहेको बताए । ‘बाहिरबाट हेर्दा आकर्षक भवन देखिसक्नुभयो, भित्र धेरै काम गर्न बाँकी छ,’ महतराले भने, ‘निर्माण कम्पनीले भदौ महिनाभित्र काम सकेर हस्तान्तरण गर्ने वचन दिएको छ । अब केही समय कुर्छौ ।’

तपाईको प्रतिक्रिया