राउटे समुदायको बाध्यताको बसाइँ, बाढीले चिरा पारेकाे सडकमा बस्ती

सुर्खेत । राउटे समुदाय आफूलाई जंगलको राजा बताउँछ । जंगल क्षेत्र नै उसको घर हो । फिरन्ते जीवन विताउने यो जाती पछिल्लो समय बाह्य व्यक्ति कारण आफ्नाे अस्तित्व संकटमा परेकाे बताउँछ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै चार जनाको मृत्यु भएको छ ।

प्रायः सुर्खेत र दैलेखका जंगल क्षेत्रमा बस्ने यो समुदायको योजना दाङसम्म पुग्ने थियो । सल्यानको कालिमाटी क्षेत्रसम्म पुगेको बेला चार जनाको मृत्यु भएपछि पुनः दाङ जाने योजना अन्त्य गरेर अहिले सुर्खेत फर्किएको छ । ‘दैलेखमा बस्दा हाम्मा समुदायका धेरै जनाको मृत्यु भयो, अब दाङसम्म पुगौं भनेर सुर्खेतहुँदै सल्यान आएका थियौं,’ महामुखिया महिमबहादुर शाही भन्छन्, ‘एकपछि अर्को गर्दै जन्ता मर्न थाले कतै पुर्खाले सरापेकी भनेर पुर्खाहरु बसेका ठाउँहरुमा पुग्दै क्षामा पूजा गर्न हिडेका हौं, दाङसम्म जाँदा अझै धेरै मान्छे मर्छन भन्ने डरले सुर्खेत तिरै फर्कियौं ।’

शहरियाले आफूहरुको बानी विगारेको बताउने महामुखीयाले नेपालीरैबारसँग भने, ‘हामी आफ्नै संसार र आफ्नै परिवेशमा रमाइरहेका थियौं । शहरियाहरु बस्तीमा आउँछन्, कहिले के ल्याउछन्, कहिले के दिन्छन् । त्यहीँ खान वानी परेपछि पछिल्लो राउटे पुस्ता जोखिममा छन् ।’

सल्यानको कालिमाटी गाउँपालिका–५ काल्चेमा २९ वर्षीय मानसिंह शाही, ३४ वर्षीय दलबहादुर शाही, सात वर्षीय बालिका दवी शाही र चिउरीबासमा डेढ वर्षीय बालका मयो शाहीको मृत्यु भएको थियो । राउटे समुदायका कुनै एक व्यक्तिको मृत्यु भएमा तत्काल त्यो बस्ती छाडेर नयाँ ठाउँमा सर्ने चलन छ ।

उनीहरुले हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्ती सरेका छन् । सिमसारको जोखिम ग्रस्त क्षेत्रमा उनीहरु बसिरहेका छन् । ‘बस्ती सर्नै पर्ने बाध्यता भयो । ठाउँ नपाएपछि जोखिम भएको ठाउँमै बस्नै त प¥यो,’ राउटे मुखिया सूर्य नारायण शाहीले भने, ‘अब धेरै दिन यहाँ बस्दैनौं । १२ दिनपछि जाजरकोटतिर जानु पर्ला ।’

राउटे सामुदाय सिमसार क्षेत्रमा निर्माण गरिएको सडकमा बसीरहेका छन् । वर्षातले सडक चिराचिरा पारेको छ । सडककाे भित्तातर्फ पहिरोको उच्च जोखिम छ । सोसेकले पहिरो जाने जोखिम रहेको क्षेत्रमा बसेका पाँच जनाको परिवारलाई सुरक्षित स्थानमा सार्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ ।

राउटे समुदायले बनाउने घरेलु मदिरा पिउदा कुनै हानी गर्थेन् पछिल्लो समय लिचि दारु खाने लतले राउटेको अस्तित्व जोगाउनै सकस भएको राउटे समुदायको क्षेत्रमा काम गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हिरासिंह थापा बताउँछन् । अव्यवस्थित बसोबास र खानपानका कारण राउटे समुदायलाई जोगाउँनै हम्मेहम्मे भएको थापाको कथन छ ।

सोसेकले उनीहरुको हेरचाहका लागि जोडी शिक्षक र स्वास्थ्यकर्मी नै बस्तीमा खटाएको छ । पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो बाहिरिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले बस्तीमा प्रहरी खटाएको छ । प्रहरीले बाह्य व्यक्तिहरुलाई बस्तीमा जान पूर्ण प्रतिवन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया