अटाे रिक्साले अशुल्छन मनलाग्दी भाडा, प्रशासन र ट्रफिक प्रहरी रमिते

सुर्खेत । वीरेन्द्रनगर–१२ पदमपुर चोकका विवेक खनाल प्रायः बाहिर निस्कँदा अटो रिक्सा प्रयोग गर्छन् । उनको घरदेखि वीरेन्द्रनगर–६ स्थित मुख्य बजार क्षेत्र आउन सधैँ एकनाशको भाडा तिर्दैनन् । अटो चालकले उनीबाट हरेक पटक फरक–फरक भाडा लिन्छन् । उही ठाउँबाट बजार आउँदा कहिले तीस रूपैयाँ तिर्छन् भने कहिलेकाहीँ त एक सय रूपैयाँसम्म तिनुपर्छ । केही समय पहिलेसम्म खनालले यो रुटमा २० रूपैयाँ भाडा तिर्थे ।

अवस्था हेरेर अटो चालकहरूले यात्रुसँग चर्को भाडा असुल्ने गरेको खनालले बताए । अटो व्यवसायी संघले पदमपुरदेखि मंगलगढी चोकसम्म ३० रूपैयाँ भाडादर कायम गरेको छ । तर, पछिल्लो समय उक्त भाडादरमा अटो व्यवसायीहरूले मनोमानी गरिरहेका छन् । नजिकैको दूरीमा जाँदा पनि महङ्गो भाडा तिर्दै आएका खनाल भन्छन्, ‘तोकिएको भाडादर कार्यान्वयन नहुँदा यात्रुहरू ठगिएका छन् । नियमन तथा अनुगमन गर्ने निकायको यसमा ध्यान गएको छैन ।’

वीरेन्द्रनगर–८ की लक्ष्मी शाहीले पनि मंगलगढीचोकदेखि कालुङ्चोकसम्मको लागि एक सय रूपैयाँ तिर्दै आएकी छन् । यो रुटमा अटो रिक्साको भाडा ४० रूपैयाँ तोकिएको छ । शाहीले एक पटक अटो चढ्दा तोकिएको भन्दा ६० रूपैयाँ बढी तिर्नु परेको गुनासो गरिन् । ‘निजी सवारी छैन । बजार आउजाउ गरिहनु पर्छ । एक सय रूपैयाँ नदिएसम्म अटोवालाले मान्दैनन्,’ उनले भनिन्, ‘बाध्यता भएपछि जति भन्यो उत्ति तिर्नु परिरहेको छ ।’

छोटो दुरीका लागि अन्य सार्वजनिक सवारी नभएको वीरेन्द्रनगरमा अटो रिक्सा भित्रिएसँगै आउजाउमा सहज भए पनि चालकले मनपरी भाडा असुल्दा यात्रुहरू मारमा परेका छन् । दुई किलोमिटर भन्दा नजिकको रुटमा चढ्दा पनि अटोलाई एक सय बढी रूपैयाँ दिनुपर्ने बाध्यता रहेको यात्रुहरूको गुनासो छ । भाडादर तोकिएको भन्दा डबल लिइरहँदा पनि नियमनकारी निकाय भने बेखबर छ । सम्बन्धित निकायले अनुगमन नगरेकै कारण अटो रिक्सा चालकले मनपरी भाडा असुल्ने गरेका हुन् ।

वीरेन्द्रनगरमा अटो रिक्सा सञ्चालन हुन थालेको झन्डै चार वर्ष भएको छ । सुरूआतदेखि नै यात्रुहरू ठगिदै आएका छन् । भाडादरमा मात्र समस्या नभइ अटोमा यात्रा गर्दा जोखिम पनि उस्तै छ । अधिकांश चालकहरूसँग सवारी लाइसेन्स छैन । लाइसेन्सविनाका चालकले तीव्र गतिमा हाँक्दा दुर्घटनासमेत हुने गररेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्सालाई व्यवस्थित सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको गुनासो बढेपछि नगरपालिकाले वि.सं. २०७५ सालमै निर्देशिका बनाइ सोहीअनुसार सञ्चालन गर्न भनेको थियो । उक्त निर्देशिकामा उपत्यकाका सबै क्षेत्रमा रुट र भाडादर समेत तोकिएको छ । निर्देशिकाअनुसार वीरेन्द्रनगर उपत्यकाका जुनसुकै ठाउँमा पुग्न पनि ६० रूपैयाँभन्दा बढी भाडा लिन नपाइने भनिएको छ । तर सर्वसाधारणहरूले भने लामो रुटमा एक सय ५० भन्दा बढी भाडा तिर्दै आएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल भने अटो रिक्साको भाडादरबारे नगरपालिका, जिल्ला प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय सबैले संयुक्त रूपमा अनुगमन गरिरहेको दाबी गर्छन् । उनले अनुगमनका क्रममा अटोमा भाडादर टाँसे नटाँसेको हेर्ने गरिएको बताए । ‘रुट नमिलेको खण्डमा बढी भाडा लिने गरेको होला,’ उनले भने, ‘तोकिएको भन्दा बढी भाडादर लिन पाइँदैन । यदी त्यो गरेको पाइए अनुगमन गरेर सचेत गराइने छ ।’ ढकालले तत्कालै एक चरण संयुक्त रूपमा अनुगमन गरिने समेत बताए । निर्देशिकामा केही हेरफेर गर्नुपर्ने भएकाले सरोकारवाला पक्षसँग छलफलको तयारी पनि गरिएको खवर साझा विसाैनी दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया