![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । गुराँस गाउँपालिकामा रहेका कृषकहरुको जीवन स्तर उकास्न गाउँपालिकाले आलुको मुल विऊ र टिमुरका विरुवाहरु वितरण गरेको छ । गाउँपालिकामा रहेका कृषकहरुलाई व्यवसायीक र आत्मनिर्भर बनाउन पालिकाले विऊ र विरुवा वितरणलाई प्राथमिकता दिएको हो ।
पालिकाका ८ वटै वडाका कृषकहरु छनौट गरेर पहिलो चरणमा आलुको मुल विऊ र टिमुरका विरुवाहरु वितरण गरिएको नेपाल कृषि विकास फार्म प्रा.लि.का सञ्चालक देवेन्द्र अधिकारीले जानकारी दिए । उनकाअनुसार विऊ र विरुवा रोप्न उपाय सिकाउन तालिम प्रदान पश्चात कृषकहरुलाई वितरण गरिएको हो । प्रत्येक वडाबाट आलुतर्फ १६ जना र टिमुरकातर्फ १६ जनालाई तालिम प्रदान गरिएको सञ्चालक अधिकारीले बताए । उनकाअनुसार आलुको मुल विऊ र टिमुरका विरुवा प्रतिव्यक्तिलाई पाँच-पाँच सय दिइएको हो ।
उत्पादन बढाउनुहोस्, प्राविधिक सहयोग गर्छौं : उपाध्यक्ष विसी
कृषिका लागि उर्भरभूमी गुराँसेका कृषकहरुको आयस्तर उकास्न विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले बताइन् । ‘पालिकाले प्रदान गर्ने अनुदान कृषकहरुलाई व्यवसायीक बनाउनु र उनीहरुको आयस्तर उकास्ने नीति हो,’ विसीले भनिन्, ‘अनुदान लिन अघि सर्ने तर घरमा खेती नगर्ने परम्परा तोड्न अनुगमनलाई पनि तिव्रता दिइनेछ ।’
व्यवसायीक खेती गर्ने क्रममा देखिने समस्या निराकरण गर्न पालिकाले प्राविधिक सहयोग गर्ने विसीले प्रतिवद्धता जनाइन् । ‘तपाइँहरुले गरिराख्नु भएको खेतीमा कुनै समस्या भएमा हामी प्राविधिक कर्मचारी खटाइदिन्छौं । समस्या परे तत्काल खवर गर्नुहोस्,’ विसीले भनिन्, ‘तर कालापहाड हैन्, यहीँ परिश्रम गरेर उत्पादित बस्तु जिल्ला भर र बाह्य जिल्लामा पठाउन कुनै कञ्जुसाई नगर्नुहोला ।’
कृषिलाई गाैरवकाे पेशा बनाउँदैछौं : अध्यक्ष ओली
गुराँसको उत्पादनलाई ब्राण्ड बनाउने गरी गाउँपालिका लागेको अध्यक्ष खेमराज ओलीले बताए । शुरुमा कृषकहरु छनौट गरेर सहयोग गरिरहेकाले त्यसको अन्तिम प्रतिफल पाउने मार्गमै रहेकाले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न कृषकहरुलाई अध्यक्ष ओलीले आग्रह गरे । ‘पालिकाका सबै कृषकहरुलाई कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न लागेका छौं,’ ओलीले भने, ‘कृषि पेशाभन्दा घृणा गर्दा अपहेलित हुनुपर्ने अवस्थाको अन्त्य गरेर कृषकहरुलाई गौरवको पेशाको रुपमा परिचित गराउनतर्फ पालिका उद्धत छ ।’
अध्यक्ष ओलीले नेपालको दोस्रो तथा कर्णालीकै पहिलो आलुको मुल विऊ उत्पादन गर्ने टिस्यूकल्चर स्थापना गरेर पालिकाका सबै कृषकहरुलाई गुणस्तरिय र स्वस्थ विऊ दिने लक्ष्य लिएको बताए । हेल्भेटास नेपालको सहयोग गुराँस गाउँपालिकाको समन्वयमा नेपाल कृषि विकास फार्मले कृषकहरुलाई व्यवसायीक बनाउन तालिम प्रदान गरेर आर्थिक स्तर उकास्ने हेतुले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७८ भाद्र १०, बिहीबार