मुगुका जनप्रतिनिधीलाई सनाखत गर्न निर्वाचन कार्यालयको पत्र

मुगु । जिल्ला निर्वाचन कार्यालय मुगुले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न इच्छुक स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएको छ । जिल्लाका चार वटै स्थानीय तहहरुलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो ।


नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समय सीमा तोकिएको छ । सरकारले हालै ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था पनि राखेको छ ।

तर आयोगले दल बदल्न चाहने प्रदेश सभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनु पर्ने जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्तकार्यालय प्रमुख धनकृष्ण बढुवालले बताए ।

त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ । हाल सम्म १२ वटै स्थानीयतहका कुनै पनि जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत नगरेको बढुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया