विभाजनपछिकाे दाैडधुप : तानातानमा कार्यकर्ता

सुर्खेत । नेकपा एमाले विभाजन भएपछि दुवै पार्टी अहिले संगठन निर्माण र सुदृढीकरणमा जुटेका छन् । एमाले आफ्ना सबै तहका सांगठनिक संरचनाहरूलाई जागृत गराउँदै संगठन सुदृढीकरणमा लागेको छ भने एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी आफ्नो संगठन निर्माण अभियानमा लागेको छ ।

एमाले र समाजवादीबीच अहिले जनप्रतिनिधिसहित नेता तथा कार्यकर्ता तान्ने र जोगाउने खेल चलिरहेको छ । एमाले आफ्ना नेता–कार्यकर्तालाई समाजवादी पार्टीमा जान नदिने ध्याउन्नमा लागिरहँदा समाजवादी भने एमालेबाट सकेसम्म धेरै नेता–कार्यकर्ता आफूतिर तान्ने कोसिसमा लागेको देखिन्छ । जसअनुसार यतिबेला दुवै पार्टीले आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

जनप्रतिनिधिहरूलाई दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको म्याद दिएको छ । सोहीअनुसार अहिले समाजवादीले एमालेका जनप्रतिनिधि तान्न दौडधुप गरिरहँदा एमाले भने आफ्ना जनप्रतिनिधि जोगाउने कसरतमा लागिरहेको छ । कर्णाली प्रदेशबाट एमालेका तीन जना प्रदेशसभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजिसकेका छन् ।

रुकुम–पश्चिमका देवी ओली, जुम्लाका पदमबहादुर रोकाय र मुगुका चन्द्रबहादुर शाहीले निर्वाचन आयोगमा गएर सनाखत गरेका हुन । समाजवादीतर्फ लागेका तीन जनालाई भने यसअघि नै कारबाही गरि पदमुक्त गरिएको थियो । फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढा कारबाहीमा परेर सांसद पदबाट मुक्त भइसकेका थिए । उनीहरूबाहेक थप तीन जनाले पनि समाजवादी रोजेका हुन् । यसअघि माधव नेपाल निकट मानिएका केही सांसदले भने एमालेमै बस्ने निर्णय गरेका छन् । यस्तै कर्णालीका विभिन्न जिल्लाबाट स्थानीय तहका केही जनप्रतिनिधिहरूले पनि नयाँ पार्टी रोजेका छन् ।

विभाजनपछि दुवै पार्टीले कर्णालीका सबैजसो जिल्लामा सांगठनिक गतिविधि बढाएका छन् । पार्टीका भेला, प्रशिक्षण कार्यक्रम र कमिटी गठनलगायतका गतिविधि भइरहेका छन् । एमाले विभाजन हुनु अघिदेखि नै नेपाल समूहले समानान्तर गतिविधि गरेको थियो । जिल्लादेखि स्थानीय तहसम्म कमिटी गठन भएका थिए । तिनै कमिटीलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा रूपान्तरण गरिएको छ । समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले वडा तहदेखि नै कमिटी गठनका कामहरू भइरहेको जानकारी दिए । ‘अहिले प्रदेशसभा सदस्यहरूले सनाखत गरिसक्नुु भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सनाखत गरिरहनु भएको छ’ उनले भने, ‘अहिले वडा तहमा कमिटी गठन भइरहेका छन् ।’

बडुवालका अनुसार यसअघिका समानान्तर कमिटीलाई समाजवादीमा रूपान्तरण गर्ने र अन्य कार्यकर्तालाई पनि ल्याउनेगरी गतिविधि भइरहेका छन् । एमालेबाट विद्रोह गरेर समाजवादी रोज्नेहरू बढ्दै गएको दावी समेत बडुवालले गरे । ‘पार्टीमा आउनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ’ उनले भने ।

एमालेले भने अहिले पार्टी पुनर्गठनको अभियानलाई तीव्रता दिएको छ । हाल एमालेले वडादेखि जिल्लास्तरीय कार्यकर्ता भेलाहरू गरिरहेको छ । पार्टीलाई एकताबद्ध गराउन वडातहदेखि भेलाहरू गरिरहेको एमाले सुर्खेतका उपाध्यक्ष अमृत बिसीले जानकारी दिए । जिल्लास्तरीय कार्यकर्ता भेला गरेर संगठनलाई सुदृढीकरणको अभियान चलाइएको उनले बताए ।

सदस्यता नवीकरणसँगै संगठन सुुदृढीकरणका कार्यक्रम तीव्र गतिमा भइरहेको बिसीले जनाए । उनले भने, ‘हामीले अहिले अभियान नै सञ्चालन गरेका छौँ । टिम बनाएर घरदैलो गर्ने, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्ने गतिविधि गरेका छौँ ।’ पार्टीबाट अन्य दलमा लागेका व्यक्तिहरूलाई मूलधारमा ल्याउन प्रयास गरिरहेको उनको भनाइ छ । एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिकाको अधिवेशन गर्ने तयारी समेत गरेको छ । सुर्खेतसहित कर्णालीका सबै जिल्लाहरूमा यतिबेला एमालेले आफ्नो गतिविधि तीव्र पारेको छ सुर्खेतबाट प्रकाशीत साझा विसाैनी दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया