काठमाडौं । सरकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख सापकोटाले बीच–बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे। तर, एकै दिन बसेका तीन बैठक एमालेले लगातार अवरोध गर्यो।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउन ‘भूमिका’ खेलेको भन्दै एमालेले अवरोध गरेको हो। विगतमा सरकारकाविरुद्ध विपक्षीले अवरोध गर्ने संसदीय चलन र परम्परा थियो। तर, एमालेले सभामुखको ‘तटस्थ र निष्पक्ष’ भूमिकामाथि प्रश्न उठाउंदै अवरोध गर्यो। संसदमा सभामुखको आचरण वा निर्णयको आलोचना गर्न नपाइने प्रतिनिधिसभा नियमावलीको नियमतर्फ सभामुखले पटक—पटक ध्यानाकर्षण गराए। तर, एमालेले सुनेन।
एमालेले सभामुखविरुद्ध संसद अवरोध गर्ने निर्णय संसदीय दलको बैठकमै गरेको थियो। पार्टीले कारबाही गरेका १४ जना सांसदको पद रिक्त नगरी अर्को दल गठन गर्न सभामुख सापकोटाले भूमिका खेलेको एमालेको आरोप छ। एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख सापकोटालाई पत्र पठाएको थियो। तर, सापकोटाले उक्त पत्रलाई कार्यान्वयनमा नलगेपछि निर्वाचन आयोगले नेपालसहितका सांसदको पद कायम राख्दै नयाँ दल दर्ता गरेको थियो। १४ जना सांसदमाथिको कारबाही टुंगो नलागेसम्म संसद् चल्न नसक्ने भन्दै एमालेले राष्ट्रियसभा पनि अवरोध गर्यो।
प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमाले सांसदहरू उठेर विरोध जनाए। सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए। भट्टराईले बैठक सञ्चालन गर्न नदिने बताए। ‘कसैलाई १८ घण्टामा कारबाही गर्ने र कसैलाई २४ घण्टामा गर्ने ? त्यो नियम एमालेमाथि किन लागू भएन ? सभामुखले समानता पूर्ण व्यवहार गर्ने हो कि होइन ? उनले भने, ‘सभामुखसँगै निर्वाचन आयोग पनि एमाले टुक्राउन नियोजित रूपमा लाग्यो।’
सापकोटाले ‘तपाईंहरूका मागप्रति ध्यानाकर्षण भयो, अब सदन सुचारु गर्न सहयोग गर्नुहोस्’ भनेर आग्रह गरे लगत्तै एमाले रोष्टम पसेर नारावाजीमामा उत्रियो। सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियमतर्फ ध्यानाकर्षण गराए। तर, एमाले पछि हटेन। सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे। दोस्रो बैठकमा पनि एमालेले सोही माग राखेर अवरोध गर्यो। सभामुख सापकोटाले कड्केर भने, ‘संविधान छ, नियम छ, कानुन छ। बैठक सञ्चालन गर्न विपक्षीको अझ बढी दायित्व हुन्छ।’ उनले १४ सांसद कारबाहीबारे आफूले कानुनअनुसार नै निर्णय लिएको र कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बताए। एमाले सांसदहरू थप आक्रोशित हँुंदै नारावाजीमा उत्रे। ‘संवैधानिक सर्वोच्चता कायम गर’ लगायतका नारावाजी गरेपछि बैठक पुनः १५ मिनेटलाई स्थागित भयो। तेस्रो बैठकमा पनि अवरोध भयो। तर, यसपटक भने सभामुख सापकोटा रोकिएनन्। उनले अवरोधबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई समय दिए। त्यसपछि एमाले थप आक्रोशित भयो। सांसद गंगा चौधरी सभामुखको आसनतर्फ अघि बढ्न खोजिन्। त्यस क्रममा मर्यादापालक र चौधरीबीच घम्साघम्सी भयो। संसद चल्ने अवस्था नभएको भन्दै सभामुख सापकोटाले शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित गरे।
सभामुख मानेर जाने सक्ने अवस्था रहेन
पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटालाई मान्न नसकिने बताए। पार्टीले २५ साउनमा कारबाही गरेका सांसदलाई पदमुक्त नगरेर सभामुखले एमाले विरोधी र गैरसंसदीय काम गरेको ओलीको आरोप थियो। ‘एमालेले कारबाही गरेपछि १४ जना गैरसांसद हुन्,’ संसदीय दलमा ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने, ‘गैरसांसदको उपस्थितिमा बैठक बस्नु संसद नियमावली विपरीत हो।
अन्नपूर्ण पाेस्टमा समाचार छ ।










पत्रपत्रिका । २०७८ भाद्र २४, बिहीबार