सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुई बेड आईसीयू र एउटा भेन्टिलेटर छन् । कोरोना महामारीलाई लक्षित गर्दै किनिएका ती आईसीयू र भेन्टिलेटर एक वर्षदेखि थन्किएका छन् । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि अस्पतालमा न जनशक्ति छ, न पूर्वाधार । यहीकारण ति उपकरण प्रयोगविहीन बनेका हुन् ।
‘आईसीयू र भेन्टिलेटर चलाउनका लागि जनशक्ति नै छैन’ जिल्ला अस्पतालका डाक्टर प्रशन्न कार्की भन्छन्, ‘आईसीयू र भेन्टिलेटर खरिद गरेदेखि एक पटक पनि प्रयोग गर्न सकिएको छैन ।’ अक्सिजन, विद्युत र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न नसकिएको डाक्टर कार्कीले बताए । जनशक्ति नभएपछि आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने विरामीलाई नेपालगञ्ज तथा काठमाडौं रिफर गर्ने गरिएको छ । यसले उपकरण भएर पनि उपचार नपाउँदा डोल्पालीको उपचार खर्च बढेको छ । यस्तै जिल्ला अस्पताल सल्यानमा ६ बेड भेन्टिलेटर र ६ बेड आईसीयू छन् ।
त्यहाँ पनि कोरोना महामारीकै समयमा आईसीयू र भेन्टिलेटर खरिद गरिएका हुन् । तर लाखौं रकम खर्चर खरिद गरिएका ती उपकरण पनि एक वर्षदेखि थन्किएका छन् । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि त्यहाँ पनि जनशक्ति र पूर्वाधारको अभाव छ । ‘भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छैन’ सल्यान जिल्ला अस्पतालका डाक्टर प्रदिप शर्माले भने, ‘जनशक्ति र पूर्वाधार नभएपछि आईसीयू र भेन्टिलेर स्टोरमै थन्किएका छन् ।’ । सल्यानमा भेन्टिलेटर र आईसीयू कक्षका लागि भवन पनि अभाव छ । विद्युतको समस्याले भेन्टिरलेटर सञ्चालन गर्न सम्भव नभएको डाक्टर शर्माले बताउँछन् ।
करोडौं रकम खर्चिएर खरिद गरिएका आईसीयू र भेन्टिलेटर जनशक्ति र पूर्वाधारको अभावका कारण थन्काउनु परेको छ। आईसीयू र भेन्टिलेटर सञ्चालन नहुँदा गम्भिर विरामीलाई जिल्ला अस्पतालले दाङ, सुर्खेत र नेपालगञ्ज रिफर गर्दै आएको छ । डोल्पा र सल्यानमा मात्रै होइन, कर्णालीका अन्य अस्पतालहरुमा पनि करोडौंका २२ बेड आईसीयू र १२ वेड भेन्टिलेटर धन्काइएका छन् । एउटा भेन्टिलेटरको मूल्य २५ लाख रुपैयाँभन्दा बढी पर्छ। आईसीयू बेडको पनि कम्तिमा एक लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पर्छ । तर मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, दैलेख र सल्यान जिल्ला अस्पतालमा करोडौं रकम खर्चिएर पुन्याइएका आईसीयू र भेन्टिलेटर थन्किएका आईसीयू र भेन्टिलेटर थन्किनुको एउटै कारण जनशक्ति र पूर्वाधारको अभाव हो । कालीकोट बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू चलाउन सक्ने जनशक्ति र अक्सिजन प्लान्ट पनि छैन ।
कालीकोटमा जनशक्ति र अक्सिजन भए पनि विद्युत अभावका कारण आईसीयू र भेन्टिलेटर थन्किएको अस्पताल प्रमुख डाक्टर रत्नवीर सुनारले बताए। ‘आफैले आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सक्छु उनले भने, “विद्युत अभावका कारण सञ्चालन गर्न सकिएको छैन ।’ जेनेरेटर तथा ब्याट्रिब्याक व्यवस्थापन भएको खण्डमा आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सकिने उनको भनाइ छ। मुगु, डोल्पा, जाजरकोट र सल्यान अस्पतालमा आईसीयू कक्षको लागि भवन अभाव छ। राष्ट्रिय विद्युत लाइन नपुगेका मुगु, हुम्ला र डोल्पा अस्पतालमा आईसीयू भेन्टिलेटर सञ्चालन गर्ने क्षमताका जेनेरेटर समेत छैनन् ।
कोरोना महामारीकै बेला केन्द्र र प्रदेश सरकारले करोडौं बजेट खर्चिएर हरेक जिल्लाहरुमा आईसीयू र भेन्टिलेटर लगायतका उपकरणहरु पुऱ्याएका छन् । तर जनशक्ति र पूर्वाधार अभावका कारण करोडौंका आईसीयू र भेन्टिलेटर बर्ष दिनदेखि थन्काउनु परेको हो । बर्षौदेखि प्रयोगमा नआएर आईसीयू र भेन्टिलेटर आफैं बिनिँदै जाने सम्भावना हुन्छ । यदि प्रयोगमा नआएर आईसीयर भेन्टिलेटर बिग्रिएको खण्डमा सरकारको करोडौं रकम बालुवामा पानी खन्याए सरह हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । साथै उनीहरुले तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गरेर उपकरण संचालन गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
उपकरण चलाउन तालिम दिएर जनशक्ति तयार गरिने
कर्णाली प्रदेश सरकारले भने एक बर्षदेखि थन्किएका आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन जनशक्तिलाई तालिम दिने तयारी गरेको छ । माग गर्दा पनि आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति पाइँदैन’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले भने, ‘अब जिल्ला अस्पालतकै डाक्टरलाई यस सम्बन्धि तालिम दिएर आईसीयू र भेन्टिलेटर सञ्चालन गर्छौं ।’ जनशक्ति माग गर्दा पनि नआएपछि निर्देशनालयले एक महिने तालिम दिने योजना बनाएको हो ।
‘आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि मेडिकल अधिकृत तहका डाक्टर हरुलाई एक महिने तामिल दिने तयारी भइरहेको छ’ डाक्टर खड्काले भने, ‘ प्रशिक्षक पाइएयो भने तिहारलगत्तै तालिम दिन्छौं ।’ तत्कालका लागि जिल्ला अस्पतालमा कार्यरत मेडिकल
अधिकृत तहका डाक्टरलाई आईसीयू र भेन्टिलेटर सञ्चालन सम्बन्धित तामिल दिइने छ । प्रशिक्षक पाइएको खण्डमा भौतिक उपस्थिति र टेलिमेडिसियन प्रविधिबाट भए पनि मेडिकल अधिकृतहरुलाई तालिम दिइनेछ । आईसीयू र भेन्टिलेटरका लागि कर्णाली प्रदेशमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जना मात्रै डाक्टरहरु छन् ।
प्रदेश सरकारले आईसीयू र भेन्टिलेटरका लागि जनशक्ति माग गर्दा कसैले पनि आवेदन दिएका थिएनन् । कोरोना महामारीकै समयमा कर्णाली प्रदेश सरकारले केन्द्र सरकारसँग आईसीयू र भेन्टिलेटरका केही जनशक्ति माग गरेको थियो । केन्द्र सरकारले केही जनशक्ति दिएमा त्यही जनशक्तिलाई नै हरेक अस्पतालहरुमा परिचालन गर्ने निर्देशनालयको योजना छ ।
युगआव्हान दैनिकमा समाचार प्रकाशित छ ।
पत्रपत्रिका । २०७८ भाद्र ३१, बिहीबार