करोडौं वर्ष पहिले विश्व महाप्रलय भयो : डाइनसोरको अस्तित्व सकियो तर सर्पहरू कसरी जोगिए ?

डाइनसोर नै लोप हुनेगरी एउटा क्षुद्रग्रह बजारिएका कारण पृथ्वीमा सर्प फैलिन सफल भएको एउटा नयाँ अध्ययनले देखाएको छ । क्षुद्रग्रहका कारण पृथ्वीमा ठूलो विनाश भएको अनि अधिकांश पशु र वनस्पतिहरू मासिएको ठानिन्छ । तर जोगिन सफल केही प्रजातिका सर्पहरू भुइँमुनि लुकेर अनि लामो समय निराहार बसेर महाप्रलयपछिको समयमा फस्टाएको विश्वास गरिएको छ । ती सहनशील सरीसृप तीन हजारभन्दा बढी प्रजाति बनेर पृथ्वीभरि फैलिए ।

आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोरहरू लोप भएका विश्वास गरिन्छ । त्यतिबेला भूकम्प, सुनामी र डढेलोको प्रकोप उत्पन्न भएको अनि खरानीयुक्त बादलले सूर्य छेकेको हुँदा दशकौँसम्म पृथ्वीमा अन्धकार छाएको मानिन्छ । वैज्ञानिकहरूले त्यो महाप्रलयका कारण पृथ्वीमा ७६ प्रतिशत वनस्पति र जीव मासिएको अनुमान गरेका छन् ।

तर केही स्तनपायी जीव, चरा, भ्यागुता र माछाजस्तै सर्पहरू जोगिएका थिए । “आहाराचक्र नासिएको यस्तो परिस्थितिमा सर्पहरू जोगिन र मौलाउन सक्षम छन् अनि ती नयाँ महादेशमा फैलिन तथा आफ्नो पर्यावरणमा नयाँ किसिमले अन्तरक्रिया गर्न सक्षम छन्,” यूनिभर्सिटी अफ बाथमा गरिएको अनुसन्धानको नेतृत्व गरेकी डा. क्याथरिन क्लाइनले भनिन् ।

“क्षुद्रग्रहको प्रभावबिना ती (सर्प) आज जहाँ छन् सम्भवतः त्यहाँ हुँदैनथे ।” मेक्सिकोमा उक्त क्षुद्रग्रह बजारिएको बेला सर्पहरू आज हामी जुन रूपमा देख्छौँ लगभग त्यस्तै थिए : खुट्टाविहीन अनि सिकार निल्न लामो च्यापु भएका ।

आहारा अभाव हुँदा एक वर्षसम्म निराहार बस्न सक्ने अनि महाविनाशपछि अन्धकारमा सिकार गर्न सक्ने तिनको क्षमता सर्पको अस्तित्वका लागि सहायकसिद्ध भएको हुनसक्छ । जोगिएका थोरै प्रजातिका सर्पहरू भुइँमुनि वा जङ्गलको सतहमा अनि पानीमा बस्ने खालका थिए । अरू जीवसँग प्रतिस्पर्धा कम हुँदा तिनलाई उद्‌विकासका विभिन्न मार्गबाट पृथ्वीभरि फैलिन ठूलो स्थान उपलब्ध थियो ।

ती पहिलो पटक एशियामा पनि पुगे र फैलिए । समयक्रमसँगै सर्प अझ ठूला भएर धेरैतिर फैलिए । तिनले नयाँ वासस्थान र नयाँ सिकार फेला पारे। अनि १० मिटर लामो समुद्री सर्पसहित नयाँ प्रकारका सर्प पनि देखा परे । ससम्बन्धी शोध वैज्ञानिक जर्नल नेचर कम्यूनिकेशन्समा प्रकाशित भएको छ ।

यो शोधले अहिले अस्तित्वमा भएका सबै सर्पहरूको सम्बन्ध क्षुद्रग्रह बजारिएपछि बाँच्न सफल प्रजातिसँग भएको देखाएको छ । रूखमा बस्ने, समुद्रमा पाइने, विषालु भाइपर र गोमन अनि बोआ र अजिङ्गरजस्ता अहिले भेटिने विविध प्रकारका सर्पहरू सबै त्यतिबेलाको महाविनाशपछि उत्पन्न भएका हुन् ।

छोटो अवधिमा कम्तीमा आधाजति प्रजाति मासिने घटना पृथ्वीमा केही पटक मात्र भएको छ । यूनिभर्सिटी अफ बाथको मिल्नर सेन्टर फर ईभलूशनका वैज्ञानिक डा. निक लङ्‌रिचका अनुसार विध्वंसपछिको समयमा उद्‌विकास अनियन्त्रित रूपमा “प्रयोगात्मक र नवीन” हुन्छ । उक्त अध्ययनले पृथ्वी न्यायो अवस्थाबाट अलि चिसो जलवायु भएको अवस्थामा पुग्दा दोस्रो पटक सर्पहरूको उद्‌विकासको लहर आएको पत्ता लगाएको छ ।

त्यतिबेला पृथ्वीको ध्रुवमा बरफ जमेर आइसक्यापहरू बनेका थिए अनि पृथ्वीमा हिमयुग सुरु भएको थियो । सर्पलाई सफल जीव मानिन्छ । एन्टार्क्टिकाबाहेक सबै महादेशमा सर्प पाइन्छ। समुद्रदेखि मरुभूमिसम्म सर्प पाइन्छ। रूखदेखि जमिनमुनिसम्म ती बस्छन् । सानामा केही सेन्टिमिटर र ठूलामा छ मिटरभन्दा लामा सर्प पनि हुन्छन् । पारिस्थितिक प्रणालीका लागि सर्पलाई एकदमै महत्त्पूर्ण मानिन्छ। तिनले साना जीवजन्तु नियन्त्रण गर्न सघाउँछन् । तर मानिससँगको द्वन्द्वका कारण धेरै प्रजातिका सर्पहरू लोप हुने जोखिममा छन् ।

तपाईको प्रतिक्रिया