युरोपेली संघले गरिब देशलाई कोरोनाविरुद्ध २० करोड मात्रा खोप दिने

युरोपेली संघले विश्वका गरिब देशलाई कोरोनाविरुद्धको २० करोड मात्रा खोप सहयोग दिने भएको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भन डेर लेयनले २० करोड थप खोप गरिब देशलाई प्रदान गर्न इयू प्रतिबद्ध रहेको जानकारी दिइन्।

ुगरिब राष्ट्रलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय आज हामीले गरेका छौं, युरोपेली संसदको वार्षिक बैठकमा उनले भनिन्। उनीहरूलाई खोप अर्को वर्ष सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन्।

उनले संघको यो योजनालाई सघाउन सबैलाई आह्वान गरेकी छन्। गरिब देशलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिन समेत उनले जोड दिइन्। विश्वका कतिपय देशले अहिलेसम्म पनि कोरोना विरुद्धको खोप पर्याप्त पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रले योगदान गर्नुपर्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया