काठमाडौं । नेपाल टेलिकमले नमस्ते सिम प्रयोगकर्ताका लागि रिङ ब्याक टोनु परिवर्तन गरेको छ। यसअघि कोरोनासम्बन्धी जानकारी दिने टेलिकमले अब भने जनगणनासम्बन्धी जानकारी दिन थालेको हो।
राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्नका लागि टेलिकममार्फत जानकारीमूलक सन्देश बजाउन थालिएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए। स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले जनगणनासम्बन्धी जानकारी सुन्न सक्नेछन्।
विभागले राष्ट्रिय जनगणना २०७८ सफल पार्न सबैसँग अनुरोध गरेको छ। असोज १८ गते सूचीकरण सकिएपछि लगत्तै जनगणनाको काम हुनेछ। यसअघि नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले वि.स २०७६ चैत ६ गते बिहीबारबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’मा कोरोनासम्बन्धी जानकारीमूलक सन्देश दिन थालेको थियो।
नेपालीरैबार । २०७८ भाद्र ३१, बिहीबार