पर्यटन प्रवर्द्धन गर्न इलामदेखी रारा साइकल यात्रा

चरीकोट । इलामबाट साइकल यात्रा सुरु गर्नुभएका विश्व साइकलयात्री पुष्कर शाहको टोलीलाई भीमेश्वर नगरपालिकाले स्वागत र बिदाइ गरेको छ । उनको टोलीले इलामदेखि रारा तालको २८ दिने साइकल यात्रा तय गरेको छ । इलामबाट दोलखा आइपुगेको टोलीलाई नगरप्रमुख भरतबहादुर केसीले टीका, माला लगाएर स्वागत गरी यात्रा सफलताका लागि शुभकामनासहित शनिबार रारातालका लागि बिदाइ गरेका छन् ।

मुलुक कोभिड-१९ ले थिलथिलो भएकै बेला आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सुरु भएको साइकल यात्रा इलाम, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप हुँदै दोलखा आइपुगेको शाहले बताए । उनकाअनुसार टोलखा, काठमाडौँ, धादिङ, तनहुँ, लमजुङ हुँदै राराताल पुग्ने लक्ष्य छ । एकदिने साइकल यात्राले दिन परिवर्तन गर्नसक्छ भने धेरै दिनको यात्राले जीवन परिवर्तन गर्नसक्छ भन्ने मूल नाराका साथ नेपाल साइकल फेस्टिभलअन्तर्गत यो साइकल यात्रा गर्न लागिएको हो ।

यात्रामा साइकल यात्रा गरिसकेका र नयाँ गरी ५० जना छन् । सहयोग गर्न १० जनासहित यात्रामा जम्मा ६० जना छन् । साइकल यात्राले २७ जिल्ला र एक हजार आठ सय किलोमिटर पार गर्नेछ । शाहले भने, “सरकारले चासो नदिँदा लाग्ने खर्च साथीहरूले जुटाएका छन् । यसमा ३२ लाख रुपियाँ लाग्ने अनुमान छ। सहयोगी दातासँग हात थाप्नुभन्दा अरू विकल्प छैन ।”

काम गर्न मन लागे पनि आर्थिक अभावले खुम्चिनु परेको गुनासो उनले गरे । भीमेश्वर नगरपालिका-७, मकैबारीमा जन्ममिएका शाहसँग करिब १० वर्षको अवधिमा १५० देशको साइकल यात्रा गरेको अनुभव छ । उनले सदरमुकाम चरीकोटमा स्थापना गर्न लागेकाे चरीकोट साइकल सिटी कोरोना कहरसँगै पूरा हुन नसकेको बताए । दोलखामा साहसिक पर्यटन स्थापना गर्न खोजिएको उल्लेख गर्दै उनले साइकल सिटीका लागि सहयोग नपाएकोमा दुःख व्यक्त गरे ।

तपाईको प्रतिक्रिया