
सुर्खेत । घटना १: वीरेन्द्रनगर नगरपालिका–१२ साविक जर्बुटा वडा नम्बर ३ (क) मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते जग्गाधनीलाई पत्तै नदिएर कित्तकाट भयो । यो जग्गाका मालिक हुन वीरेन्द्रनगर ६ का सौगात रावत । जग्गाको कित्ताकाट वा किनवेच गर्दा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्तिविच) को आपसी सहमतिमा मात्रै मालपोत कार्यालयले किनारा लगाउन मिल्छ । तर जग्गाधनी रावतले आफ्नो नामको जग्गा नामसारी भएर अर्कैको व्यक्तिलाई बेचिसकेपछि मात्रै पत्तो पाए । रावतले २०७७ पौस २९ गते जग्गाको नक्सा निकाल्न खोज्दा आफ्नो कित्ता नम्बर नभेटिएपछि वास्तविकता पत्ता लाग्यो ।
जग्गाधनीलाई थाहै नदिएर ३२ वर्षीय सन्तोष ठाकुर मुख्य योजनाकार बनेर मालपोतकै कर्मचारीको मिलेमतोमा भएको रहस्य खुल्यो । मालपोतका कर्मचारीदेखी जग्गा दलाली समेत पक्राउ परेपछि सुर्खेतमा हलचल नै मच्चियो । यो मुद्दा अहिले सुर्खेत जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ । प्रहरीले गरेको औँठा छाप प्रमाणिकरणमा ठाकुरको भएको पुष्टि भइसकेको छ ।
घटना : भदौ ३१ गते मालपोत कार्यालय परिसरमै नक्कली लालपूर्जा बनाएर जग्गा विक्री गरेको आरोपमा वीरेन्द्रनगर–५ का २५ वर्षीय दिपक झा र सोही ठाउँका कविर खाँण पक्राउ परे । अनुसन्धानका क्रममा उनीहरुले वीरेन्द्रनगर–९ का स्थानीय सुवास घतानेलाई कित्ता नम्बर १५८ र १६४ को जग्गा कायम गरी विक्री गरेको खुलेको छ ।
यी त सुर्खेत मालपोत कार्यालयमा पछिल्लो एक वर्षमा भएका प्रतिनिधमुलक घटना मात्रै हुन् । नागरिकहरुको अत्यधिक भीड हुने कार्यालयमा पर्दछ मालपोत । तर नागरिकहरुको सम्पतिको विवरण राख्ने मालपोत कार्यालयमै हुने यस्ता घटनाले कार्यालयप्रतिको विश्वासमा नागरिकहरुले गम्भीर प्रश्न उठाउने गरेका छन् । जग्गा किनविचका क्रममा कार्यालयका कर्मचारी गम्भीर नहुँदा मालपोतमा यस्ता घटना दोहोरिरहेको स्थानीय बताउँछन् ।
‘विगतमा एकको जग्गाको पत्तो नदिएरै अर्कैको नाममा विक्री गरेको विषय सेलाउन नपाउँदै फेरि नक्कली लालपूर्जा कार्यालय परिसरमै भेटिए,’ कार्यालयमा सेवा लिन पुगेका एक सेवाग्राहीले प्रश्न गरे, ‘यस्ता घटना बारम्बारहुँदा पनि कार्यालयले उच्च स्तरिय छानविन समिति गठन गरेर घटनाको वास्तविकता बाहिर ल्याउने हिम्मत किन गर्दैन ?’ पछिल्लो पटक नक्कली पूर्जा बनाउनेमा पनि पहिलेको वा संगठीत गिरोह हुन सक्ने भएकाले गहिरो अनुसन्धान गर्न आवश्यक हुनुपर्ने स्थानीय बताउँछन् ।
प्रदेश राजधानी वीरेन्द्रनगर कायम भएपछि हाल बाह्य जिल्लाका नागरिकहरु सुर्खेतमा जग्गा खरिद गरिरहेका छन् । व्यवसायी वा व्यक्तिहरुले बैंकिङ कारोवार गर्न पनि जग्गा रोक्का वा फुकुवा जस्ता काम पनि मालपोतबाटै हुन्छन् । कार्यालय परिसरमै भेटिएको नक्कली लालपूर्जाको घटनाले गम्भीर ध्यानाकर्षण भएको मालपोत कार्यालय सुर्खेतका प्रमुख जनक हमाल बताउँछन् । ‘विगतमा पनि झुक्याएर यस्ता गतिविधि तपाइँ हामी जानकार छौं । फेरि केही दिन अघि नक्कली लालपूर्जा बनाएर बेच्न खोज्नेलाई पक्राउ गर्न सफल भएका छौं,’ प्रमुख हमालले भने, ‘यसमा संगठित गिरोह वा विचौलीय जो भएपनि अनुसन्धान गर्न प्रहरीसँग अनुरोध गरेका छौं ।’
नक्कली लालपूर्जा बारे जग्गा खरिकर्ताले उच्च सावधानी अपनाउन जरुरी रहेको हमालको सुझाव छ । ‘सक्कली लालपूर्जा बन्ने मालपोतमा हो । बाहिर कुनै व्यक्तिले परिफन्दामा पार्न सक्छन्,’ हमालले भने, ‘जग्गा किनवेच जस्तो विषयमा आफै मालपोत कार्यालयमा उपस्थित भइ जानकारी लिएर मात्रै सेवा लिन अनुरोध गर्दछु ।’ मालपोतबारे भइरहेका घटनामा कार्यालयले एक्लैले छानविन समिति गठन गर्न सक्ने अख्तियारी नभएको हमाल बताउँछन् । मालपोतमा हुने विकृति रोक्न, विचौलिया र दलालीहरुलाई निरुत्साहित गर्नमा आफू गम्भीर रहेको हमालले दावी गरे । प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित छ ।

नेपालीरैबार । २०७८ आश्विन ५, मंगलवार