रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको थियो। ‘पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने भन्ने आदेश भएको छ,’ प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया