विपन्नको दसैँः छाक टार्न मुस्किल

सुर्खेत । हरेक चाडपर्वमा विपन्नलाई थप आर्थिक बोझ हुन्छ । दैनिक ज्यालामजदुरी गरेर छाक टार्नुपर्ने बाध्यताका परिवारलाई चाडमा रौनक कम ऋण बढी थपिन्छ । विपन्न परिवारमा एउटा भनाइ छ, ‘दसैँ आउनु के थियो, हाम्रा लागि दशा हो ।’ चाडपर्वले यो वर्गलाई खुसी दिन सक्दैन । किन कि बिहान बेलुकाको गाँसको जोहो गर्ने ध्याउन्नमै दिन बित्छन् । ‘चाडबाड हुने खानेका मात्र रहेछन्,’ लेकवेशी–७ कि लक्ष्मी विक भन्छिन्, ‘हुँदा खानेका लागि के रमाइलो हुनु ।’

३५ वर्षीय लक्ष्मी वीरेन्द्रनगर बजारका सडक छेउमा व्यापार गर्छिन् । ठेलाको व्यापार, पसल थाप्ने ठाउँको ठेगान हुँदैन । डुलेर सामान बेच्नुपर्छ । सडक छेउछाउ ठेला भेटे नगरपालिकाले हटाइहाल्छ । तैपनि आठ वर्षदेखि लक्ष्मी वीरेन्द्रनगरका सडक पेटीमा ठेला धकेलेर जीविका धानिरहेकी छिन् । यसै व्यवसायबाट भएको आम्दानीले परिवारको खर्च जुटाउनुपर्ने बाध्यता उनलाई छ ।

‘खिजिरमिजिर सामान डुलाएर बेच्छु,’ उनले भनिन्, ‘कहिले दुई–चार पैसा आम्दानी हुन्छ । कहिले भने एउटा सामान पनि बिक्री हुँदैन ।’ यही व्यापारबाट कोठाभाडा तिर्न र परिवारलाई दुई छाक टार्न हम्मेहम्मे परेको उनी बताउँछिन् । लक्ष्मीले अलि धेरै आम्दानी हुने व्यवसाय गर्न नखोजेकी होइनन् । ‘सोचेको त हो, त्यसका लागि पनि लगानी धेरै चाहियो,’ उनले भनिन्, ‘ठूलो र व्यवस्थित पसल गर्न पैसा कहाँबाट ल्याउनु ।’

यतिबेला वर्षदिनको ठूलो चाड दसैँ भित्रिसकेको छ । तर, लक्ष्मीलाई भने छाक कटाउने पिरलो छ । उनी आइतवार पनि मंगलगढी चोकमा ठेला लगाएर ग्राहक पर्खिरहेकी थिइन् । ‘हामीलाई सधैँ उस्तै हो,’ लक्ष्मी भन्छिन्, ‘दसैँ–तिहार सम्पन्नका लागि मात्रै रहेछन् ।’ उनले यसपटक राम्रो व्यापार नहुँदा मूलघर फर्कने मेसो समेत नभएको बताइन् । दसैँ लागेयता बसपार्कमा आउजाउ गर्नेको घुइँचो छ । मानिसहरूको चहलपहल देख्दा लक्ष्मीलाई व्यापार होला कि भन्ने आश लाग्छ । तर, सोचेजस्तो व्यापार भएको छैन । फाटफुट हुने व्यापारले लगानी उठाउनै मुस्किल पर्छ ।

न राम्रो कमाइ न सुखको व्यापार । फुटपाथमा बसेर व्यवसाय गर्नेहरूका दुःख कति हुन् कति । बिहान ६ बजेबाट ठेला धकेल्न सुरू गर्ने लक्ष्मी बुलुकी ८–९ बजे मात्रै कोठामा पुग्छिन् । दिनमा त्यस्तै हजार रूपैयाँसम्मको बिक्री हुन्छ । त्यहीबाट आएको फाइदाले घर खर्च चलाउनुपर्छ । मासिक चार हजार कोठाभाडा बुझाउने उनलाई सानो व्यवसायले वीरेन्द्रनगरमा टिक्न धौ–धौ छ ।

थोरै कमाइले पनि जेनतेन खर्च जुटाउने उनीजस्तै अर्की व्यवसायी हुन, पवित्रा पाण्डे । उनी डोकोमा सामान बोकर बेच्छिन् । उनको व्यापार सिजनअनुसार हुन्छ । कहिले तरकारी बेच्छिन्, कहिले फलफूल । यसरी व्यापार गर्न थालेको चार वर्ष भयो । लकडाउनमा लामो समय घरमै बसेकी उनले अहिले पुनः डोके व्यापार सुरु गरेकी छिन् । यो पेसा रहरले नभइ बाध्यताले अंगालेको उनी बताउँछिन् । पवित्राको घर लाटीकोइली हो । ३७ वर्षकी उनका दुई बच्चा छन् । कलिलैमा बिहे गरेकी उनको वैवाहिक जीवन धेरै वर्ष टिकेन । केही वर्षयता श्रीमान्सँग छुट्टिएर बसेको उनले बताइन् । डोके व्यापारकै भरमा पवित्राले घर खर्च जुटाइरहेकी छिन् । उनलाई पनि चाडपर्वको रमाइलोले फिटिक्कै छुँदैन । ‘हाम्रा लागि जुन दिन व्यापार राम्रो भयो उसै दिन दसैँ,’ उनी भन्छिन् ।

साना व्यवसाय गरेर गुजारा चलाउने वर्गलाई छाट कटाउने पिरलो छ । त्योभन्दा अझै न्यून आर्थिक अवस्था भएकाहरू पनि सहरमा छन् । जोसँग कमाउने कुनै मेसो छैन । के खाने, कहाँ बस्ने, कुनै ठेगान छैन । यस्ता वर्गलाई चाडपर्वले छुन सकेका छैनन् । उनीहरू एक दिन भए पनि मिठो खान र राम्रो लगाउनबाट वञ्चित छन् ।

विपन्न परिवारलाई ठूला पर्व टार्न मुस्किल छ । कोरोना महामारीपछि धेरै विपन्नको रोजगारी खोसिएको छ । उनीहरू अहिले थप आर्थिक समस्यामा छन् । ४५ वर्षिय विष्णुबहादुर विष्ट दैलेख रावतकोटका हुन् । उनी छोराछोरीलाई राम्रो शिक्षा दिन सकिन्छ कि भनेर केही वर्ष पहिले वीरेन्द्र्रनगर झरे । आम्दानीको स्रोत भनेकै सानो–तिनो व्यापार छ । ‘यहाँ जग्गा–जमिन केही छैन,’ उनले भने, ‘कोरोना महामारीपछि कमाइ पनि गतिलो भएन । अहिले निकै अप्ठ्यारोमा छु ।’

विष्टको ठेला व्यापार छ । त्यसकै आम्दानीले चार जनाको परिवार पालिनुपर्छ । तीन वर्षसम्म होटल व्यवसाय गरेका उनले राम्रो व्यापार नभएकै कारण ठेला व्यापार रोजेका हुन् । ‘यसमा झन् कमाइ नहुने रहेछ,’ उनी भन्छन्, ‘चाडपर्व नजिकिए तर मनमा कत्तिपनि हर्ष छैन । पेटभरी खाना नहुनेलाई के दसैँको रौनकले छुन्थ्यो । साझा बिसाैनी दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया