सुर्खेत । अवरिल वर्षापछि सबैभन्दा ठूलो क्षती सुदूरपश्चिम प्रदेशमा भएको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायुले सबैभन्दा ठूलो वर्षा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा केन्द्रीतहुँदा ठूलो धनजन र मानविय क्षती भएको हो ।
सुदूरपश्चिममा अविरल वर्षासँगैको बाढी र पहिरोमा परेर हालसम्म १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एवम् प्रवक्ता बिक्रमबहादुर चन्दले नेपालीरैबारलाई बताए । उनकाअनुसार विपदबाट डोटीमा ९ जना र डडेलधुरामा तीन जनाको मृत्यु भएको छ । विद्युत र फोन सेवा अवरुद्धहुँदा बाँकी जिल्लाहरुमा तथ्याङ्क संकलनको काम जारी रहेकाले मृतकको संख्या बढ्ने सक्ने आँकलन प्रवक्ता चन्दको छ ।
‘एक्काशी वर्षाले सुदूरका तराईदेखी पहाडी जिल्लामा ठूलो धनजनको क्षती पु¥याएको छ,’ चन्दले भने, ‘कतिपय जिल्लामा सम्पर्क समयमै नहुँदा मानविय क्षतीको एकिन तथ्याङ्क आइसकेको छैन, प्रहरीले पहिलो प्राथमिकतामा नागरिकहरुको ज्यान जोगाउन अहिले पनि उद्धारमै खटिएको छ ।’ सुदूरपश्चिममा वर्षाले सबैभन्दा धेरै क्षती बझाङ, डोटी, डडेलधुरा र वैतडीमा पुगेको छ ।
यी जिल्लाहरुमा मंगलबार नै उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाइएको थियो । तर मौसम प्रतिकुलका कारण महाकाली नदीमा फसेकाहरुको उद्धार गर्न सफल भएपनि पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन नसकिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ । ‘हिजोभन्दा आज सुदूरपश्चिमको मौसममा केही सुधार भएको छ । पहाडी जिल्लाहरुमा हल्का वर्षा भएपनि केही ठाउँमा घाम लागेको जानकारी पाएका छौं,’ प्रवक्ता चन्दले भने, ‘आज विहानैदेखी बढी प्रभावित जिल्लाहरुमा जिल्लास्थित दैवी प्रकोप उद्दार समितिको समन्वयमा उद्धारको काम जारी छ ।’
उद्धारका लागि सेनाको हेलिकोप्टर बझाङ पठाइयाे
नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतमा रहेको हेलिकोप्टर उद्धारका लागि सुर्खेतबाट सुदूरपश्चिम पठाइएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर बुधबार विहान उद्धारका लागि बझाङ उडेको सुर्खेत विमानस्थलले जनाएको छ । बझाङकाे थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता छन् । उनीहरूकै उद्धार गर्न सेनाकाे हेलिकाेप्टर बझाङ गएकाे हाे ।
‘सेनाको सानो हेलिकोप्टर हिजो नै सुदूरपश्चिम पठाइएको थियो, ठूलो हेलिकोप्टर उद्धारका लागि आज बझाङका लागि उडेको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘ठूलाे हेलिकाेप्टर मंगलबार नै उद्धारका लागि जाने तयारी भएपनि माैसमका कारण सुर्खेत विमानस्थलबाट उड्न सकेन ।’ तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दकाअनुसार सेनाको सानो हेलिकोप्टर धनगढीमै रहेको र उद्धारको काम गरिरहेको छ ।
आधा दर्जन बढी सडक अवरुद्ध
सुदूरपश्चिमका पहाडी जिल्लामा जाने मुख्य सडकहरु अवरुद्ध छन् । पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्तसहित आधा दर्जन मुख्य राजमार्गका दर्जनौं स्थानमा पहिरो गएको प्रवक्ता चन्दले बताए । भीमदत्त राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो हटाउने काम भइरहेको छ । तर सञ्चार सेवा अवरुद्ध हुँदा एकिन विवरण संकलन गर्न कठिनाई भएको छ ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लाघारीस्थित सडकमा माथिबाट पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध छ । यस्तै डोटीको जोरायल गाउँपालिका १ मा पहिरो खसेपछि सो क्षेत्रमा पनि भिमदत्त राजमार्ग अवरुद्ध छ । जयपृथ्वी राजमार्गको बझाङस्थित केदारस्यु– १ नारीगौडा खोलामा र अछाम जाने सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
सुशील खड्का । २०७८ कार्तिक ३, बुधबार