सुर्खेत । सत्ता सञ्चालनका लागि आलोपालो गर्ने सहमति अनुसार नै तिहार अगाडी कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भइसकेका छन् । मुख्यमन्त्रीमा शाही नियुक्त भएपनि अन्य मन्त्रीहरु भने हालसम्म नियुक्त गरिएको छैन् । काँग्रेससहित गठबन्धनसँगको लिखित सहमतिअनुसार नेकपा माओवादी केन्द्रले नेतृत्व गर्दै आएको कर्णालीमा यहीँ कार्तिक १५ गते मार्ग प्रस्तत गर्दै तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिएका हुन् । कार्तिक १६ गते नै मुख्यमन्त्रीको सपथ लिएका नवनियुक्त मुख्यमन्त्री शाहीले अबको केही दिनमा मन्त्रीपरिषद् विस्तार गर्ने गृहकार्यमा छन् ।
‘अबको एक हप्तामा मन्त्रीपरिषद्लाई पूर्णता दिने गृहकार्य भइरहेको छ,’ नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले नेपालीरैबारसँग भने, ‘गठबन्धनका नेताहरुसँग सम्वाद भइरहेको छ, सम्भवत् सोमबारदेखी मन्त्रीपरिषद विस्तारबारे छलफल गरेर निचोडमा पुग्नेछाैं ।’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादीका कर्णाली ईन्चार्ज प्रकाश ज्वाला सुर्खेत बाहिर छन् । मुख्यमन्त्री शाही पनि गृह जिल्लाको भम्रणमा छन् । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्य राप्रपा र एमाले बाहेक माओवादी, समाजवादी र काँग्रेसको गठबन्धन छ । तीन पार्टीका शीर्ष नेतृत्व बाहिर रहेकाले मंगलबारसम्म सुर्खेत फर्कि सक्ने तयारी छ । त्यसपछि मात्रै मन्त्रीपरिषद् विस्तारलाई पूर्णताबारे छलफल गरिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक शाही बताउँछन् ।
‘मन्त्रीपरिषद्लाई पूर्णता दिन गठबन्धनमा कुनै समस्या छैन्, सबै शीर्ष नेताहरु सुर्खेत बाहिर छौं,’ नेकपा एकीकृत समाजवादीका कर्णाली इन्चार्ज ज्वाला भन्छन्, ‘विगतको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त भइसक्नु भयो, गठबन्धनको बैठकबाट मन्त्रालयको भागबण्डा टुंगाएर चाडै मन्त्रीपरिषद्लाई पूर्णता दिन्छौं ।’ ज्वालाकाअनुसार कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो लागेपछि मन्त्रीको नाम शीर्ष नेतृत्वले किनारा लगाउनेछ ।
काँग्रेसबाट बुढाक्षेत्री र शाहीकाे चर्चा
नेपाली काँग्रेसले मुख्यमन्त्रसहित थप दुई मन्त्रालय पाएमा हिमबहादुर शाही र पूर्व सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको नाममा चर्चा छ । तर विगतमा गठबन्धनभित्र भएको ११ बुदे सहमतिमा कुन दलले कति मन्त्रालय लिनेभन्ने बारे किटान गरिएको छैन् । ‘बाह्य चर्चामा काँग्रेसले मुख्यमन्त्री र एक मन्त्रालय मात्रै पाउने भन्ने मिथ्या हल्ला चलाइएको छ,’ काँग्रेसका एक सांसदले भने, ‘काँग्रेसले थप दुई, समाजवादीले दुई र माओवादीले तीन मन्त्रालयको जिम्मेवारी लिन्छ ।’ काँग्रेसले दुई मन्त्रालय पाएमा शाही र बुढाक्षत्रीकै सम्भावना अधिक रहेको काँग्रेस निकट ति सांसदको दावी छ ।
माओवादीमा शर्मालाई दोहो¥याए नेपालीको पनि दावी
नेकपा माओवादी केन्द्रलाई भने मन्त्री छान्नमा हम्मे भइसकेको माओवादी वृत्तमा चर्चा छ । ‘पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई जनार्दन शर्माले दोहो¥याउने मनसाय राखेका छन्,’ माओवादी निकट एक सांसद भन्छन्, ‘यदि अर्थमन्त्री शर्मा दोहोरिने हो भने पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीले पनि दोहो¥याउने अडान कायमै राख्नु भएको छ ।’
माओवादीबाट यी दुवै जना मन्त्री नभएमा विन्दमान विष्ट, रातो कामी र कृष्णा शाह मन्त्री बन्ने ति सांसदको दावी छ । ‘मन्त्री भइसकेका व्यक्तिलाई दोहो¥याउनु उचित हुन्न भन्ने बहस पनि चलेको छ,’ ति सांसद भन्छन्, ‘नयाँ व्यक्तिलाई पनि अवसर दिनुपर्ने भएकाले शर्मा र नेपाली व्याक हुनुहुन्छ होला । छलफल र बहस भने पार्टी भित्र पनि चल्ना नि !’
समाजवादीबाट तीन मन्त्रालयको दावी
नेकपा एकीकृत समाजवादीले भने तीन मन्त्रालय नै पाउनुपर्ने अडान लिएको छ । फ्लोरक्रस गरेर पूर्व मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिँदा तीन मन्त्रालय पाएकाले अहिले पनि तिनै जनाको दावी रहेको पार्टीको प्रदेश कमिटीले निर्णय गरिसकेको छ । तर माओवादी र काँग्रेसले भने दुई मन्त्रालय मात्रै दिन सकिने अनौपचारिक छलफलका क्रममा बताएको स्रोत बताउँछ । समाजवादीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसदमध्य देवी ओली प्रदेश सभाको सामाजिक विकास समितिको अध्यक्ष रहेकाले चन्द्रबहादुर शाही र पदम रोकाया मन्त्री हुने चर्चा गरिएको छ ।
सुशील खड्का । २०७८ कार्तिक २२, सोमबार