कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

१० दिन प्रहरी हिरासतमा गुजारिसकेका महरा थप ३ दिन प्रहरी हिरासतमै रहने भएका छन् ।

यही असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरालाई लामो दशैं बिदाका कारण पक्राउ परेको दशौं दिन मंगलवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।


यो पनि पढ्नुहोस

   सभामुख महराले दिए राजीनामा


जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् प्रहरीले १३ दिन म्याद थप गर्न माग गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपकराज दाहालको इजलासले १३ दिनकै समय दिएको हो ।

मंगलवार भएको थुनछेक बहसमा महराका तर्फबाट पूर्व महान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अघिवक्ता रमन श्रेष्ठ र मुरारी सापकोटाले बहस गरेका थिए ।

आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । पक्राउ परेपछि उनको सेवासुविधा समेत रोक्का भइसकेको छ ।

महरालाई आरोप लगाउने रोशनी शाही नाम गरेकी महिलाले भने पटक–पटक बयान फेर्दै आएकी छन् ।

 

तपाईको प्रतिक्रिया