सुर्खेत। ‘श्रीमतीलाई गाली गर्र्नुहुन्न, परिवारमा मिलेर बसे राम्रो हुन्छ । बुढीलाई काममा अप्ठ्यारो भए हामीले सहयोग गर्नुपर्छ’ तपाईंको समुदायमा महिलामाथि हिंसाका घटना कत्तिको हुन्छन् भन्ने जिज्ञासामा राउटे मुखिया दिलबहादुर शाहीको जवाफ हो, यो । महिलाको संरक्षण र सम्मानका लागि आफ्नो समुदायमा एकखालको नियम नै बनाइने गरिएको बताउँदै उनले भने, ‘श्रीमती र बालबालिकालाई किन हेला गर्ने ?’
समाजको मूलप्रवाहिकरणमा ल्याउने प्रयासहरू भइरहेपनि घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो विभेदको खाडल यहाँ छैन । राउटे मुलुकको कानुन जान्दैनन् । झै–झगडा र मुद्दामामिला गर्दैनन् । शान्त र अनुशासित देखिने उनीहरूका आफ्नै परम्परा र चालचलन छन् । राउटे समुदायको उत्थानका लागि क्रियाशील अभियान्ताहरूका अनुसार सानो–ठूलो, धनी–गरिब र महिला–पुरुषबीच गरिने विभेद यो बस्तीमा भेटिदैन ।
आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएको छ राउटे समुदाय । ‘यहाँ लैङ्गिक हिंसा र एक–अर्काबीच विभेद छैन,’ राउटे समुदायको शिक्षाका लागि काम गरिरहेकी दुर्गा खत्री भन्छिन्, ‘सभ्य भनिएको समाजले यहाँबाट सिक्नुपर्ने थुप्रै कुरा छन् ।’ उनले राउटे समुदायमा हिंसाजन्य घटना न्यून हुने गरेको जनाइन् । ‘अहिलेको समयमा महिला–पुरुष यसरी मिलेर बसेको समाज कमै देख्न पाइन्छ,’ खत्रीले भनिन्, ‘बरु गैरसमुदायबाट राउटेमाथि दुव्र्यवहार र हिंसाजन्य गतिविधिको जोखिम बढेको छ ।’
आधुनिकता उन्मुख भएसँगै अन्य समुदायमा हिंसा र विभेदका घटना बर्सेनि बढ्दै गएका छन् । हिंसाका रूप पनि बदलिँदो छ । जसले गर्दा महिला, बालबालिका र विपन्न परिवार मारमा पर्दै आएका छन् । तर, राउटे समुदायमा यस्ता कुरीति भेटिदैनन् । ७० वर्षीय मनबीर कल्याल ठकुरी राउटे समुदायका ज्येष्ठ नागरिक हुन् । उनले पनि आफूहरूको समुदायमा महिला र केटाकेटीलाई विभेद गर्ने चलन नरहेको जनाए । ‘सबैलाई माया गर्नुपर्छ । झगडा गरेर काम छैन,’ उनी भन्छन् । अव्यवस्थित र जोखिमपूर्ण बसोबास भए पनि आपसी सम्मान र संरक्षण राउटे कुटीभित्र छ । अरु समुदायजस्तो घरेलु हिंसाबाट राउटे महिला प्रताडित छैनन् । बरु गैरराउटे समुदाय अनेक खालका हिंसा र विभेदको सिकार हुँदै आएको छ ।
राउटे बस्ती अहिले सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी किनारमा छ । यो समुदायको शिक्षाका लागि काम गर्दै आएकी खत्रीले भनिन्, ‘राउटेहरू हरेक काम महिला–पुरुषको सरसल्लाहमा गर्छन् । सुख–दुःख साटासाट गर्ने चलन छ ।’ उनले एकल महिलाको हकमा भने राउटेहरू अलि कठोर नै हुने गरेको बताइन् । खत्रीका अनुसार विधवा महिलामाथि यो समुदायमा पनि विभेद देखिन्छ । एकल महिलाहरू थिचोमिचोमा पर्ने गरेका हुन् । समुदायभित्र हरेक अवसर लिँदा एकल महिलाको पालो पछि आउँछ । राउटे समुदायका महिलाहरू आफूमाथि जस्तोसुकै समस्या परेपनि सकभर अरुलाई बताउँदैनन् । अहिलेसम्म कहीँकतै उजुरी नहुने भएकाले हिंसा भइहाले पनि घटना बाहिर नआउने गरेको खत्रीको भनाइ छ ।
लैङ्गिक विभेद कमै भए पनि असुरक्षित जीवनशैलीले राउटे महिलाहरूको स्वास्थ्य भने निकै जोखिममा छ । ४१ घरधुरीमा एक सय ४९ को संख्यामा रहेका समुदायमा पुरुषभन्दा महिला धेरै छन् । पछिल्लो तथ्याङ्कअनुसार राउटे बस्तीमा ८१ महिला र ६८ पुरुष छन् । अति लोपोन्मुख जाति राउटे कर्णाली प्रदेश र आसपासका जङ्गल तथा नदी किनारमा बस्ती सारिरहन्छन् । उनीहरू एकै ठाउँमा बस्न रुचाउँदैनन् । शिक्षा, आधुनिक उपचार पद्धति, कृषि र पशुपालनदेखि टाढै छन् । सरकारले उपलब्ध गराउने मासिक भत्ताका भरमा उनीहरूको जीवनयापन हुँदै आएको छ । केही वर्ष पहिलेसम्म काठबाट बनाइएका हस्तकलाका सामग्रीसँग अन्न साटेर गुजरा चलाउने उनीहरू अहिले आफ्नो परम्परागत पेसा छोड्दै गएका छन् । जसका कारण उनीहरूलाई जीवनयापनमा समस्या हुने गरेको छ । गैरसमुदायसँगको घुलमिल बढेसँगै राउटेहरूले परम्परागत पेसामा ध्यान दिन छोडेका हुन् । कुनै बेला रूपैयाँ छोए पाप लाग्छ भन्ने समुदाय अहिले अरुसँग पैसा मागेरै गुजरा चलाउन थालेका हुन् । राउटे समुदाय पछिल्लो समय मदिराको लतमा परेको छ । यसले उनीहरूको स्वास्थ्यसँगै परम्परागत पेसा र मूल्यमान्यताहरू भत्किदै गएका छन् ।
चिसो मौसममा नदी किनारमा बसिरहेका राउटे बस्तीमा यतिबेला खाद्यन्न र लत्ताकपडाको अभाव छ । न्यानो कपडा र खाद्यन्न नहुँदा समुदायका ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई समस्या भइरहेको मुखिया शाहीले बताए । ‘केही दिन अघि संस्थाहरूले दिएको चामल पनि सकियो,’ उनले भने, ‘अब के खाने भन्ने चिन्ता छ ।’ फिरन्ते जीवन बिताउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन् । अव्यवस्थित बसाइँका कारण बस्तीका धेरैजसोमा दीर्घरोगको समस्या छ । राउटे मुखिया मानबहादुर शाही दिनभर छाप्रामै बस्छन् । शाही रोगले थलिएका छन् । ‘खानको लागि चामल छैन । कतै गएर मागेर ल्याउन पनि सकिदैन,’ उनले भने, ‘भत्ता नपाएको पनि तीन महिना भयो ।’
नेपालीरैबार । २०७८ मंसिर २०, सोमबार