घरघरमा खानेपानी धारा जडान

जाजरकाेट । बर्सेनि खानेपानीको हाहाकार हुने भेरी नगरपालिका–१, कालेगाउँमा अहिले घर–घरमा खानेपानीका धारा जोडिँदा  स्थानीयवासी हर्षित भएका छन । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट करिब ८० लाख रुपियाँको लागतमा सात किलोमिटर टाढा केराबारी मुहानबाट खानेपानी ल्याएर यो बस्तीका घर–घरमा धारा वितरण गरिएकाे हाे ।

तीन वर्षको अवधिमा क्रमागत रूपमा सम्पन्न भएको यस खानेपानी योजनाको हालै उपभोक्ता समितिमार्फत हरेक ङरमा धारा जडान गरिएकाे छ । हाल एक सय ५० घरमा धारा जडान गरिएकाे खानेपानी उपभोक्ता समितिका सचिव साधना पुनले बताए । स्थानीय बासिन्दा बिन्दु बटालाले पहिले खानेपानी ल्याउनका लागि आधा घण्टाको बाटो हिँड्नुपर्नेमा अहिले घरमै पानी आउँदा धेरै सहज भएको बताए ।

टाढाबाट डोकामा पानी बोकेर ल्याउने पीडा अन्त्य भएकोमा उनले खुसी व्यक्त गरे । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयबहादुर बस्नेतले सात किलोमिटर टाढाबाट खानेपानी ल्याउन सफल भएको बताए । ५० घनमिटरका ट्याङ्कीबाट गाउँमा पानी वितरण गरिएकाे उनकाे भनाइ छ । जनस्राेत तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले नयाँ प्रविधिमा आधारित खानेपानी योजनाले समुदायमा खानेपानीको पर्याप्त सुविधा भएको बताए ।

हाल घरघरमा खानेपानी धारा जडान भएसँगै यहाँका बासिन्दाले स्वच्छ पिउने पानीका साथै स्वास्थ्य सरसफाइमा पनि ध्यान दिएका छन् । खानेपानी पाएसँगै हरेक घरमा करेसाबारी स्थापना गरेर ताजा तरकारीसमेत खान पाएको स्थानीय शिक्षक उत्तर बटाला बताउँछन । विगतमा पानीको अभावले बाँझै रहने बारीमा हाल तरकारी तथा अन्य नगदे बालीसमेत उत्पादन गर्न थालिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया