कर्णालीमा लागुऔषधको कारोबार बढ्दो

कुलतमा फस्दै सहरका युवा पक्राउ पर्नेमा अधिकांश ‘भरिया’

सुर्खेत। कानुनी रुपमा लागुऔषधको कारोबार र प्रयोगलाई रोक लगाइएको छ । कानुनअनुसार लागुऔषधको कारोबार तथा प्रयोग गर्न पाइँदैन । यदी कसैले अवैध कारोबार गरेमा दुई बर्षदेखि दश बर्षसम्म कैद सजाय हुन्छ । लागुऔषध नियन्त्रण ऐन २०३३ ले डाक्टरको सिफारिसबिना लागुऔषधको प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ ।

लागुऔषधविरुद्ध कडा कानुन भए पनि कर्णालीमा भने यसको अवैध कारोबार तथा सेवन बढ्दै गएको पाइएको छ । पछिल्लो समय लागुऔषधका प्रयोकर्ता र कारोबारी बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीको फन्दामा परेका कारोबारी र नियन्त्रणमा लिइएको लागुऔषधको परिमाणले पनि कर्णालीमा बर्सेनि लागुऔषधको कारोबार र प्रयोग बढ्दै गएको देखाएको हो । पछिल्ला २८ महिनाको अवधिमा प्रहरीले यससँग सम्बन्धित तीन सय ६ जना कारोबारीलाई पक्राउ गरेको छ ।

साथै सोही अवधिमा ४१ किलो चरेस, २६ किलो अफिम, तीन हजार एकसय ६० वटा ट्याब्लेट, झण्डै एक किलो गाँजा र दुईसय २६ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा १४ किलो एकसय ९३ ग्राम अफिम, नौ किलो ३४ ग्राम चरेश, एकसय २८ ग्राम आठसय १७ मिलीग्राम ब्राउनसुगर, पाँचसय ५४ ग्राम गाँजा र एकहजार आठसय ९५ वटा ट्याब्लेट नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै २०७७/०७८ मा ३० किलो एकसय २४ ग्राम ५० मिलीग्राम चरेश, १२ किलो सातसय ग्राम अफिम, सातसय ४० वटा ट् याब्लेट र ४६ ग्राम सातसय ५१ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिएको छ । त्यस्तै चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म पाँचसय २५ वटा ट्याब्लेट तीन सय ९६ ग्राम तीनसय ६ मिलीग्राम गाँजा, एक किलो दुईसय १२ ग्राम नौसय ९० मिलीग्राम चरेश र ५१ ग्राम एकसय ८८ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

यो रैबार आजको युगआह्वान दैनिकमा प्रकाशित छ।

तपाईको प्रतिक्रिया