एक अध्ययनका अनुसार, भूकम्पको उच्च जोखिममा वीरेन्द्रनगर !

सुर्खेत। वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । मुख्यगरी नगरका चार वटा वडाहरु भूकम्पसहित बहुप्रकोपको जोखिममा रहेको पाइएको हो। वीरेन्द्रनगर नगरपालिकाले तयार नेपालसँगको समन्वयमा जियो इन्जिनियरिङ कन्सल्टेन्टले एकवर्ष लगाएर गरेको अध्ययनले यस्तो देखाएको हो ।

उक्त अध्ययन अनुसार भूकम्प आएको खण्डमा नगरपालिकाको वडा नं ६ सबैभन्दा बढी घरहरु जोखिममा पर्नेछन् । यस्तै वडा नं. २, ३, ९ र १० बहुप्रकोप (बाढी, पहिरो र भूकम्प ) को उच्च जोखिममा रहेको पाइएको हो । बहुप्रकोपको उच्च जोखिममा रहेको क्षेत्रमा भवन निर्माण लगायतका भौतिक संरचनाको काममा कमी ल्याउनसमेत अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । शुक्रवार कन्सल्टेन्टका टिम लिडर डा. दिपक चौलागाईंले वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीलाई उक्त अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् । त्यसक्रममा चौलागाईले अध्ययन अनुसार नीति निर्माण बनाएर काम गर्न सकिए बहुप्रकोपको जोखिममा न्यूनीकरण गर्न सकिने बताए ।

अध्ययनले नगरको उत्तरी क्षेत्र पहिरोको, दक्षिणी क्षेत्र बाढीका साथै भूकम्पको जोखिममा रहेको देखाएको हो । वडा नं. ९, १३, १४, १५ र १६ पहिरोको उच्च जोखिममा रहेको अध्ययनको निस्कर्ष छ । यस्तै फोरलेन सडकभन्दा दक्षिणी क्षेत्रमा कालोमाटो बढी हुनाले भूकम्पको जोखिममा रहेको अध्यनले देखाएको छ । त्यसका लागि भौतिक पूर्वाधार निर्माणको काममा कमी ल्याउनुपर्ने अध्ययनमा उल्लेख छ ।

उत्तरी क्षेत्रमा भने केही चट्टानयुक्त माटो हुँदा भूकम्पको जोखिम कम रहेको पाइएको छ । यस्तै धेरैजसो घर भवनसंहिता मापदण्ड अनुसार निर्माण नगरिएको पाइएको छ । यसले पनि भूकम्प आएमा वडा नं ६ मा मात्र करिव पाँच अर्बको क्षति हुने अनुमान गरिएको छ। यो क्षति भवनको मात्रै हो । अध्ययन प्रतिवेदन बुझ्दै मेयर देवकुमार सुवेदीले अध्ययन अनुसार नगरपालिकाले आफ्ना नीतिहरु निर्माण गरी व्यवहारमा लागू गराउने प्रतिद्धवता जनाए ।

तपाईको प्रतिक्रिया