वृद्धालाई ठक्कर दिने नक्कली चालक खडा गरेपछि बाँगेशीमलमा आन्दोलन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ बाँगेशीमल बस्ने एक वृद्धालाई ठक्कर दिने चालक नै नक्कली खडा गरेपछि आफन्तले आन्दोलन शुरु गरेका छन् । फोरलेन सडक खण्डको ढोडेखाली खोला पुलदेखि झण्डै दुईसय मिटर पश्चिम विच सडकमा कर्णाली प्रदेश ०२००१ प ८९५० नम्बरको मोटरसाईकल ६१ वर्षीय नन्दकली कँडेललाई आईतबार दिउँसो ठक्कर दिएको हो ।

कँडेलको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएपछि आफन्त अहिले आन्दोलन शुरु गरेका छन् । कँडेललाई ठक्कर दिने चालक घटना लगत्तै फरार भएको र उनको ठाउँमा नक्कली चालक मोटरसाईकल धनीले खडा गरेपछि आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गराएका छन् । सहमतिका लागि दिनभर जिल्ला प्रहरी कार्यालयमा छलफल गरेपनि सहमति नहुँदा आफन्तले अहिले बाँगेशीमलमा आन्दोलन गरिरहेका छन् ।

दुर्घटना लगत्तै चालक फरार थिए । तर प्रहरी चौकी बाँगेशीमलले गएराती वीरेन्द्रनगर–२ दौलतपुरबाट २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरेको हो । कँडेलका आफन्तले भने उनी घटनाहुँदा मोटरसाईकल नचलाएको र उनको सवारी चालक अनुमति पत्र नभएपछि मोटरसाईकल धनीले नक्कली चालक खडा गरेको बताएका छन् । उचित क्षतीपूर्ती र सक्कली चालक पक्राउ नगर्दासम्म आन्दोलन जारी राख्ने कंडेलका भाई काशीराम सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया