कर्णालीमा ६ महिनाकाे अवधिमा २०३ ओटा सवारी दुर्घटना, ११८ को मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा २०३ ओटा सवारी दुर्घटना भएका छन् । भौगोलिक भू–वनावट र नयाँ निर्माण गरिएका सडकहरुमा सवारी साधान चलाउँदा सवारी दुर्घटना बढेको तथ्याङ्क कर्णाली प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

मुगु र सल्यानमा ठूलो मानवीय क्षती हुनेगरी चालु आर्थिक वर्षमा सवारी दुर्घटना भएका थिए । प्रहरीले सार्वजनिक गरेको विवरणमा ६ महिनाको अवधिमा ११८ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । यो अवधिमा ५१५ जना घाइते भएका छन् । दुर्घटनाको दरमा न्यूनीकरण गर्न ट्राफिक जनचेतनामूलक कार्यक्रम सात सय ६७ पटक सञ्चालन गरेर ६ लाख ६९ हजार ७९० जना लाभान्वित भएको प्रहरी रेकर्ड छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५०१ सवारीलाई कारवाही गरेर एक करोड ७१ लाख ९७ हजार पाँचसय राजश्व संकलन गरिएको छ । प्रहरीले दिएको विवरणमा प्रदेशका विभिन्न ठाउँबाट २४ ओटा अवैध हतियार बरामद गरेको छ । हतियार राख्ने १५ जना व्यक्ति पक्राउ परेका छन् ।

२२ हजार १९८ लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी गणेशबहादुर ऐरले जानकारी दिए । उनकाअनुसार विभिन्न निकायको समन्वयमा प्रदेशका केही ठाउँमा ४४ थान नयाँ सीसीटीभी क्यामरा जडान र ४० थान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ ।

जुवा तास खेल्ने ११ वटा स्थानबाट ८४ जनालाई कारवाही गरिएको पनि डिआईजी ऐर बताउँछन् । ‘अदालतबाट फैसला तर फरार रहेका विभिन्न मुद्दाका फरार अपराधिहरुमा १४१ जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘उनीहरुबाट कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र सोह्र लाख १० हजार ८९० रुपैयाँ जरिवाना अशुल भएको छ ।’

लागू औषध दुव्र्यसनी तथा अवैध वेचविखन गर्नेको संख्या भने यो वर्ष बढेको छ । गत वर्षको ६ महिनामा ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर र एक किलो २१३ ग्राम चरेश प्रहरीले बरामद गरेको ऐर बताउँछन् ।

३४८ प्रहरीलाई सम्मानितहुँदा १५८ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । राजश्व छलेर सामान भित्र्याउने ११ जनालाई व्यक्तिलाई पक्राउ गरिएको छ । लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामानमा राजश्व छलेका एक करोड ३४ हजार ५६४ रुपैयाँ राजश्व अशुल गरिएको छ ।

प्रहरीले अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासीबरामद ओखेटोपहार र बन पैदावार ओसारपसार गर्ने १८ जनालाई पक्राउ गरिएको छ । यो अवधिमा २७३ दशमलव ६९ क्यूफिट काठ, पाँच केजप् यार्सागुम्बा, चार थान रेडपाण्डाको छाला, चार थान कस्तुरीको बिना र एक थान सालकको खप्पर प्रहरीले बरामद गरेको छ ।

यस्तै, अवैध जडिबुटीहरु जटामासी पाँच बोरा, कटुकी १३ बोरा, खिरौला १२ बोरा र जिम्बु ३०१ के.जी. बरामद गरिएको प्रदेश प्रहरीले जनाएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक श्रोतहरूको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधान र ५१ जनालाई नियन्त्रणमा लिएर दुई लाख ४० हजार ५७० रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी बताउँछ ।

तपाईको प्रतिक्रिया