दुर्गमका बासिन्दालाई वीरेन्द्रनगरमा ‘आवास गृह’ निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत। कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा आवास गृह निर्माण गर्ने भएको छ। भौगोलिक विकटता, यातायातको सहज पहुँच नहुनु र गाउँमै भरपर्दो उपचार सेवा नभएकै कारण हुम्ला, डोल्पा, मुगुु, कालिकोट र जुम्लाका नागरिक वीरेन्द्रनगर आउने गरेका छन्।

                                                          सांकेतिक तस्बिर

यसका लागि उनीहरुले समय र पैसा दुबै खर्चिनुपर्ने अवस्था छ। जेनतेन प्रदेश राजधानी झरेपनि उनीहरुको वीरेन्द्रनगरबसाई महंगो छ। तर आर्थिक रुपमा विपन्न नागरिकलाई वीरेन्द्रनगरमा बस्न र औषधि उपचार गर्नै मुश्किल हुन्छ। यही कारण कर्णाली प्रदेश सरकारले राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रुपले बास दिनेगरी ‘कर्णाली नागरिक अतिथि आवास गृह’ बनाउँदै छ।

उक्त अथिति गृहमा मुख्यगरी उपचारका लागि दुर्गम जिल्लाबाट आएका विरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउनेछन्। ‘दुर्गमका नागरिक उपचारकै लागि वीरेन्द्रनगर आउँछन्, अन्य कामका लागि आउँदा पनि उनीहरुलाई समस्या हुने गरेको छ’ मुख्यमन्त्री जीवनबहादुर शाहीले भन्छन्, ‘उनीहरुका लागि सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने छ, यसैका लागि वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर हामी आवास गृह निर्माण गर्छाै’ यसले दुर्गमका नागरिकलाई वीरेन्द्रनगर आउँदा महँगो खर्चमा होटलमा बस्नैपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ।

प्रदेश सरकारसँग आफ्नै जग्गा नभएका कारण वीरेन्द्रनगर नगरपालिकालाई आवास गृह निर्माणको जिम्मा दिन लागिएको प्रदेश सरकारले जनाएको छ। जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले वडा नं. ६ स्थित राम मन्दिर रहेको जग्गामा आवास गृहका लागि प्रस्ताव गरेको छ। ‘राम मन्दिर क्षेत्रमा अतिथि आवास गृह बनाउन प्रस्ताव भएको छ’ मेयर देवकुमार सुवेदीले भन्छन, ‘प्रदेश सरकारबाट बजेट आएपछि अन्य काम अगाडि बढ्छ।’ आवास गृहका लागि जग्गा अभाव नहुने उनको भनाइ छ। आवास गृहमा विरामीसहित दुर्गमबाट आउने नागरिकले सेवा पाउने छन्।

तपाईको प्रतिक्रिया