राप्रपालाई प्रदेश सभामा कुर्सीकाे व्यवस्थापन नभएकोमा आपत्ती

सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिपक्ष दल राप्रपाका सांसदलाई सीट व्यवस्थापन नगरेकोमा आपत्ती जनाइएको छ । ३५ संदस्यीय प्रदेश सभामा राप्रपाबाट प्रतिनिधित्व गर्ने सांसद सोशीला शाहीलाई अग्र लाइनमा सिट व्यवस्थापन नभएपछि आपत्ती जनाइएको हो ।

के हो घटना ?
आज सञ्चालन भएको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका सांसदहरु समय अगावै पुगेपछि सभामुख राजबहादुर शाहीले बैठक शुभारम्भ गर्छन् । आज शहिद दिवस भएकाले सभामुखले देशमा आमुल परिवर्तनका लागि बलिदानी दिने शहिदको सम्झनामा मौनधारणका लागि आग्रह गर्नेक्रममा सांसद शाही हलमा प्रवेश गर्छिन् ।

मौनधारणको क्रम सकिएपछि सबै सांसद आ–आफ्नो सिटमा बस्छन् तर राप्रपाकी सांसद शाही भने आफ्नो सिट कहाँ छ भनेर अलमलमा परेको दृष्यमा देखिन्छ । लगत्तै सभामुख शाहीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदिय दलका नेता यामलाल कंडेललाई बैठकमा आफ्ना धारणा राख्न समय दिन्छन् ।

कंडेलले धारणा राखिरहेको बेला पनि सांसद शाही सिटमा नबसेर उभिएकै हुन्छिन् । यसअघिका बैठकमा प्रतिपक्षी दल भनेर बैठक कक्षको अगाडी सिटमा बस्दै आएकी शाहीलाई हाल सचिवालयले पछिल्ला सिटमा बस्ने व्यवस्थापन गरेपछि शाहीले आपत्ती जनाएकी हुन् ।

संसद बैठकमा सबै सांसदको समान हैसियत भएपनि सिट व्यवस्थापनमा सचिवालयले गरेको व्यवहार ठिक नभएको शाहीले बताइन् । ‘कुनै विषयमा विमती जनाउँदा एमालेको सांसद भयो भनेर प्रचार गरिन्छ,’ शाहीले दुखेसो पोखिन, ‘संसद बैठकमा आउँछु, सचिवालयको व्यवहार अर्कै देख्छु सभामुख महोदय मलाई गेटबाटै प्रवेश नगर भन्नुहोस्, म आउँदिन् ।’

दलकाे मान्यता दिएपछि त्यहीँ खालकाे व्यवहार गर्नु पर्याे भन्दै शाहीले थपिन ‘आवश्यक भयाे भने बाेलाउनु हाेला, नभए गेट बाहिरै जनताका मुद्दा राखुला ।’ आफ्ना धारणा पाेखेर बैठक हलबाट बाहिरिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया