दुई प्रदेश जोड्ने पुलको काम धमाधम

सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्य धमाधम भइरहेकाे छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्ले घाट र पञ्चपुरी नगरपालिका–११ को कुइने घाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ सँग जोड्ने दुई पुलको निर्माण भइरहेको हो ।

५५० मिटर लामो चिप्ले घाटको पुलको काम करिब ७० प्रतिशत र ३५० मिटर लामो कुइने घाटको पुल करिब ९० प्रतिशत सकिएको छ । यी दुवै पुल यसै आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य लिइएको छ । दुवै पुलको निर्माण व्यवसायी अनक-लुम्बिनी जेभीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले तोकिएको अवधिभित्र पुल निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको बताउनुभयो ।

पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिने छ भने दूरी पनि घट्ने छ । अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्छ । पुल बन्दा चौकुनेदेखि चिसापानीको दूरी बढीमा ११ किमि हुनेछ । कुइने घाट पुल २०७१-०७२ मा सम्झौता भई २०७६ मा सक्नुपर्ने थियो ।

साइट इन्चार्ज श्रेष्ठले पुलको डिजाइन पास हुनै दुई वर्ष लागेको र कोराेनाका कारण काममा पनि केही ढिलाइ भएको बताउनुभयो । सो पुल ३२ कराेडको लागतमा आगामी असारमा सक्ने गरी निर्माण भइरहेको छ । यस्तै, चिप्ले घाटको पुल निर्माणको सम्झौता २०७४ मा भएको थियो ।

२०७८ मा सक्ने लक्ष्य रहेको सो पुलको लागत ६० कराेड रहेको साइट इन्चार्ज श्रेष्ठले बताउनुभयो । उहाँले दुवै पुलको काम तीव्र गतिमा भइरहेको हुँदा तोकिएको अवधिभित्र निर्माण सम्पन्न गरी दुई प्रदेश जोडिने जिकिर गर्नुभयो । अहिले ती ठाउँ पुग्न कि झोलुङ्गे पुल तर्नुपर्छ कि डुङ्गाबाट जानुपर्छ । दुवै पुल निर्माण भए दुवै प्रदेशको सिधा सम्पर्क बढ्नुका साथै व्यापार र विकासको ढोका खोल्नेमा त्यस क्षेत्रका बासिन्दा आशावादी छन् । गाेरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया