पालिका विशेष

समृद्धिको यात्रातर्फ गुर्भाकोट नगरपालिका

सुर्खेत। गुर्भाकोट नगरपालिका–३ धारापानी पाँच वर्षअघिसम्म सिंगो गाउँ विकास समिति थियो । अधिकांस भूभाग छिमेकी जिल्ला सल्यानसँग जोडिएको यो ठाउँ आधारभूत सुविधाबाट बञ्चित थियो । सडक थिएन्, घण्टौं हिँडेर डोकोमा दैनिक उपभोग्य बस्तु ओसार्नुपर्ने बाध्यता थियो । गाउँमा कोही विरामी हुँदा अझ ठूलो समस्या हुन्थ्यो । आधारभूत स्वास्थ्य चौकीसमेत गाउँमा थिएन् । उच्च मूल्यका कृषिको उर्वर भूमि भएपनि ढुवानी समस्याले खेतीपाती कम हुन्थ्यो । अहिले धारापानीको अवस्था फेरिएको छ । गाउँमा सडक पुगेको छ । स्वास्थ्य चौकी स्थापना भएको छ । शहरी स्वास्थ्य क्लिनिक सञ्चालन छन् ।

           गुर्भाकोट नगरपालिका–३ को धारापानीमा पुगेका जीपहरु । तस्बिर: नगेन्द्र उपाध्याय -नागरिक

विद्युतले गाउँ झिलीमिली छन् । गाउँ छोडेर नजिकका शहरमा गएकाहरु फेरि गाउँ फर्कन थालेका छन् । गाउँमै उच्च मूल्यका कृषि खेती गरेर लाखौं कमाउन थालेका छन् । गुर्भाकोट कर्णाली प्रदेशकै दोस्रो ठूलो नगरपालिका हो । स्थानीय सरकार गठन भएसँगै गुर्भाकोटले समृद्धिको यात्रा तय गर्न थालेको हो । ‘जनताको सुख–दुःखको सरकार भएकाले जनताका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नेतर्फ हामीले ध्यान केन्द्रीत ग¥यौं,’ मेयर हस्त पुनले भने, ‘सडक, विद्युत, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थियौं, अहिले राम्रो नतिजा आइरहेको छ ।’

धारापानीका भिमबहादुर बुढा ६४ वर्षका भए । उनले जीवनको उर्वर समय पिठ्युमा भारी बोकेरै विताए । स्थानीय सरकारमा आफूले चुनेका जनप्रतिनिधि आएसँगै आफ्नो गाउँको विकास भएको उनी बताउँछन् । ‘हामीले वर्षौदेखि पिठ्यूमा भारी बोकेर जीवनको गुजारा चलायौं,’ उनले भने, ‘हामीले चुनेको जनप्रतिनिधि पालिकामा आएसँगै सडकको पहुँच पुगेको छ, भारी बोक्नुपर्ने बाध्यता हटेको छ ।’ चार वर्षअघि संघीय सरकारले धारापानी र त्योसँग सीमा जोडिएको सल्यानसम्म सडक पु¥याउन बजेट छुट्यायो । ठेक्का प्रक्रिया पनि पूरा भयो । निर्माण कम्पनीले काम नगर्दा धारापानी सडक सञ्जालसँग जोडिएन् । संघीय सरकारको बजेटबाट सडक निर्माण नहुने देखिएपछि गुर्भाकोट नगरपालिकाले आफै सडक निर्माण थाल्यो । ‘छ महिनामै हामीले धारापानीमा सडक सञ्जाल पु¥यायौं,’ मेयर हस्त पुनले भने, ‘धारापानीबासीको वर्षौदेखिको सपना पूरा गर्न स्थानीय सरकार सफल भएको छ ।’ अहिले धारापानीका सबै गाउँसम्म सडक पुगेको छ । बोटेचौरदेखि धारापानीसम्मको दूरी १२ किलोमिटर हो ।

गुर्भाकोट नगरपालिका–११ को मर्मागाड गाउँ पनि धारापानीको जस्तै थियो । २०७४ को स्थानीय तहको निर्वाचन भएको एक वर्ष नपुग्दै गाउँमा ै सडक पुग्यो । त्यसपछि मर्मागाडका मानिसले आफ्नो गाउँको उत्पादन र बजारबाट ल्याउनुपर्ने ठूलो परिमाणको सामान भेरी पारिबाट ल्याउनुपरेन । ‘यहाँका सानातिना आयोजनादेखि घर बनाउन चाहिने सामान पारिबाटै ल्याउनुपथ्र्यो, अहिले त्यो अवस्था छैन,’ स्थानीय लिलबहादुर विकले भने, ‘यहाँ सामान ल्याउनुपरे र यहाँको उत्पादन वा केही लैजानुप¥यो भने सिँधै लिन सकिएको छ ।’ मर्मागाडमा सडक मात्रै होइन्, सिंचाई पनि थिएन् । सिंचाई कुलो थियो, मर्मत गर्ने पैसा थिएन् । जनप्रतिनिधि आएको पहिलो नगरसभाबाटै कुलो मर्मतका लागि ५० लाख रुपैयाँ छुट्याइयो । ‘चुनावी अभियानका क्रममा यहाँका जनताले सडक भन्दा पनि कुलो मर्मतको काम गर्नु भएको थियो,’ मेयर पुनले भने, ‘हामीले पहिलो वर्षमै सिंचाई कोलोसँगै सडक पनि मर्मागाड पु¥यायौं ।’

गुर्भाकोट नगरपालिकामा १४ वडा छन् । नगरपालिकाभित्रका सबै वस्तीहरुमा बाटो पुगेको छ । केही बस्तीमा बाहै्र महिना सवारी चल्न सक्छन् भने कतिपयमा भने बर्षातको समयमा चल्दैनन् । बर्खामा सवारी चल्न नसक्ने त्यस्ता बाटोहरुलाई स्तरोन्नति गर्ने काम भईरहेको पुनले बताए । तर, वडादेखि पालिकासम्मका सडक भने नियमित सवारी साधन चल्नेगरी बनाईएको छ । ‘बस्तीमध्ये कतिपय ठाउँमा ग्राभेल गरिसकिएको छ, कतिपय ठाउँमा भएका कच्ची बाटोलाई सुधार गर्दै जाने क्रम चलिरहेको छ,’ मेयर पुनले भने, ‘वडादेखि पालिकाको कार्यालयमा जोड्ने बाटोहरुमा बाह्रै महिना सवारी साधन चल्न सक्छन्, केही भौगोलिक समस्या भएका ठाउँहरुमा पहिरो तथा विपद् आएको समयमा मात्र अवरुद्ध हुने कुरा फरक हो ।’

नगरपालिकामा जनप्रतिनिधि आउनु अघिसम्म अधिकांस क्षेत्रमा विद्युतीकरण थिएन् । पाँच वर्ष पुग्नै लाग्दा सबै बस्तीमा विद्युत पुगेको छ । सामुदायिक विद्युतिकरण कार्यक्रममार्फत सबै बस्तीमा विद्युत पु¥याइएको उपमेयर मैना विकले जानकारी दिइन् । ‘नेपाल विद्युत प्राधीकरणले बस्ती बाक्लो भएको वा बजार भएको ठाउँमा मात्र विद्युत विस्तार गर्ने गरेको छ,’ उनले भनिन्, ‘हामीले सामुदायिक विद्युतीकरणमार्फत गुर्भाकोटका हरेक बस्तीहरुमा बिजुली पु¥याएका छौं ।’
‘बेडरेष्ट’ले छात्रा नियमित

गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन् । बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो । पेट दुख्थ्यो । आराम गर्ने ठाउँ थिएन् । स्कुल छुटाउने रहर कस्को पो हुन्छ र ! विद्यालयमा अध्ययरत निशाजस्तै दुई सयबढी किशोरी महिनावारी समस्याका कारण बाध्यताले अनियमित हुन्थे । यसको प्रत्यक्ष असर उनीहरुको पढाईमा पर्दथ्यो । अहिले महिनावारी समस्याकै कारण कुनै पनि किशोरीले विद्यालयमा अनियमित हुनु पर्दैन् । विद्यालयले महिनावारी भएका किशोरीहरुका लागि ‘बेडरेष्ट’ कक्ष निर्माण गरेको छ ।

‘गाह्रो हुँदा केही बेर आराम गरेर फेरि कक्षा कोठामा फर्किन्छौं,’ कक्षा १० कि छात्रा निशाले भनिन्, ‘महिनावारी समस्याकै कारण किशोरीले विद्यालयमा अनियमित हुनुपर्ने बाध्यता हटेको छ ।’ आनन्द माविमा किशोरीहरुका लागि चार वटा पलङ र बेड राखिएका छन् । बेडरेष्ट कक्ष स्थापनासँगै महिनावारी भएका किशोरीहरु विद्यालयमा नियमित हुन थालेका छन् । विद्यालयका प्रधानाध्यापक धनपति ढकालले बेडरेष्ट कक्ष स्थापनासँगै कुनै पनि किशोरीहरु महिनावारी भएकै कारण कक्षा छोडेर घर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । ‘६ देखि १२ कक्षासम्म दुई सयबढी किशोरीहरु छन् । महिनावारी हुँदा प्रायः किशोरीहरु विद्यालय आउँथेनन्, आएका पनि हाजिर लगाएर फर्किन्थे,’ प्रधानाध्यापक ढकालले भने, ‘अहिले महिनावारीकै कारण कुनै पनि किशोरीले विद्यालय छोड्ने गरेका छैनन् । सबै किशोरीहरु नियमित विद्यालय आउँछन् ।’

विद्यालयको कक्षा कोठामा महिनावारी हुने किशोरीहरुका रेष्ट गर्नका लागि तयार पारिएका बेडहरु । तस्बिर: नगेन्द्र उपाध्याय -नागरिक

सूर्यज्योति मावि मेहलकुनाकी प्रमिला पाध्यावती कक्षा नौमा अध्ययन गर्छिन् । उनी महिनावारी हुँदा जहिल्यै तीन दिन स्कुलमा अनियमित हुन्थिन् । महिनावारी हुँदा स्कुलमा आराम गर्ने ठाउँ थिएन् । अहिले उनी नियमित विद्यालयमा हाजिर हुन्छिन् । विद्यालयमा महिनावारी भएका किशोरीहरुका लागि रेष्टरुमको व्यवस्था गरिएको छ । ‘महिनावारीकै कारण कुनै पनि किशोरी विद्यालयमा अनियमित हुँदैनौं,’ उनले भनिन्, ‘विद्यालयमै महिनावारी हुँदा आराम गर्ने व्यवस्था हुँदा सहज भएको छ ।’

गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका २१ वटा माविमा बेडरेष्ट कार्यक्रम लागू गरेको छ । जनप्रतिनिधि निर्वाचित भएसँगै सबै विद्यालयमा किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको नगरपालिकाले किशोरीहरुलाई विद्यालयमा नियमित गर्नका लागि बेडरेष्ट कार्यक्रम लागू गरेको हो । गुर्भाकोट नगरपालिकाका उपप्रमुख विकले बेडरेष्ट कार्यक्रम लागू भएसँगै किशोरीहरुको महिनावारीका कारण विद्यालय छोड्ने र नआउने दर पूर्णरुपमा घटेको बताइन् । ‘किशोरीहरुका लागि बेडरेष्ट कार्यक्रम यहाँ प्रभावकारी बनेको छ,’ उनले भनिन्, ‘महिनावारीकै कारण यहाँका कुनै पनि किशोरी विद्यालय छोड्ने वा महिनावारी नहुँदा विद्यालय नआउने दर पूर्णरुपमा घटेको छ ।’

जेष्ठ नागरिक सम्मान तथा दिवा सेवा

गुर्भाकोट नगरपालिकाले जेष्ठ नागरिकहरुको सम्मानका लागि हरेक वर्ष वडा–वडामा कार्यक्रम गर्छ । न्यानो कपडा र निःशुल्क स्वास्थ्य शिविर चलाउँछ । जेष्ठ नागरिकको सम्मानका लागि प्रत्येक वडामा दिवा सेवा कार्यक्रम सञ्चालन गरिएका छन् । ‘विहान १० बजेदेखि बेलुका चार बजेसम्म बृद्धबृद्धाहरु दिवा सेवास्थलमा जम्मा हुनुहुन्छ, आफ्ना अनुभव, भोगाईहरु बाँड्नुहुन्छ,’ उनले भनिन्, ‘हेर्दा सामान्य देखिएपनि यो कार्यक्रम धेरै प्रभावकारी भएको पाएका छौं ।’ उनले आफ्नो उमेर मिल्नेहरुसँग भेटघाट हुनुका साथै उहाँहरुका गुनासा सुन्ने र त्यसलाई समाधान गर्ने साझा चौतारीका रुपमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई लिइएको बताइन् ।

गुर्भाकोट–१३ का वडाध्यक्ष मधु गुरुङले जेष्ठ नागरिकको सम्मानमा पालिकाले महत्वपूर्ण कामहरु गरेको बताए । अधिकांस वडामा दिवा सेवा कार्यक्रमका लागि भवन पनि बनेका छन्,’ उनले भने, ‘त्यहाँ आउने, बस्ने र कुराकानी गर्ने गर्दा पनि जेष्ठ नागरिकहरु धेरै रमाउनु र खुशी हुनुहुन्छ ।’-नगेन्द्र उपाध्याय- नागरिक

तपाईको प्रतिक्रिया