दैलेख र जाजरकोटबाट वीरेन्द्रनगरमा झरेका पूर्जाविहिनलाई समेट्न माग

भूमि आयोग सुर्खेतलाई बुझायो ज्ञापनपत्र

सुर्खेत । विभिन्न समयमा सुर्खेतको वीरेन्द्रनगरमा बसाइँसराई आएका पूर्जाविहिन नागरिकहरुलाई समेट्न राष्ट्रिय भूमि आयोग सुर्खेत समक्ष माग गरिएको छ । भूमिहिन पठान टोल खाद्य अधिकार समूहले आज जिल्ला समन्वय समितिमा रहेको आयोगको कार्यालयमा पुगेर वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा दिन माग गरेको हो ।

‘२०२४ सालदेखी दैलेखको तल्लोडुंगेश्वर र जाजरकोटका विभिन्न ठाउँबाट बसाइँ सरेर बसोबास गरिरहेका छौं,’ भूमिहिन पठान टोल खाद्य अधिकार समूहका अध्यक्ष रनेबहादुर सुनारले भने, ‘लामो समयदेखी जग्गाको लालपूर्जा र स्वामित्व नहुँदा खाद्य अधिकारबाट समेत बञ्चित भएकाले पूर्जा दिलाउन आयोग समक्ष माग पत्र बुझाएका छौं ।’

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० पूर्जाविहन ११८ घरधुरीको ४५० कठ्ठा जग्गा रहेको छ । यहाँ ७३३ जनाको जनसंख्या छ । आफूहरु भोगचलन गर्दै आएको जग्गा आफ्नै नामको लालपूर्जा कायम गर्न समूहको माग छ । पठान र शान्ति टोलमा हाल पूर्जाविहिन दलितका ८५, जनजातिका १० र अन्य जातिका २३ घरधुरी छन् ।

लालपूर्जा नभएकै कारण सरकारी सेवा सुविधा पाउनबाट बञ्चित भएको अध्यक्ष सुनारको गुनासो छ । भोगचलन गर्दै आएको जग्गा आयोगको मापदण्डअनुसार उपलव्ध गराउनु पर्ने र छुटेका घरधुरीलाई समेट्नु पर्ने उनीहरुको माग छ ।

‘दलित समुदाय भनेर चिन्छन, हामीमा न्यून शिक्षा र चेतनाको अभावका कारण सेवा पाउनबाट समेत बञ्चित छौं,’ सुनारले भने, हाम्रो दैनिकी नै ज्याला मजदुरी छाक टरेको छ, बर्षैदेखी बसोबास गर्दै आएको ठाउँमा हामीलाई व्यवस्थापन गर्नमा राज्यले उचित कदम लिनेमा आशावादी छौं ।’

फियान नेपालले पठान र शान्ति टाेलमा बस्दै आएका सीमान्तकृत समुदायहरुको स्वास्थ जीवनयापनका लागि सांस्कृतिक रुपमा स्वीकार्य पर्याप्त र पोषणयुक्त खाद्य अधिकार सुनिश्चितताको लागि समान हक, अधिकार, अवसरमा पहुँच स्थापित गरिरहेकाे छ ।

फियान नेपालका कर्णाली संयाेजक प्रकाश नेगीकाअनुसार ५४ वर्षदेखि बसाेबास गर्दै आएका उनीहरुकाे आवाज उठान गरेर सराेकारवाला निकायमा पुर्याउने गरिएकाे छ । याे बस्तीका नागरिकहरुकाे आयस्तर भनेकै विभिन्न ठाउँमा ज्याला मजदुरी गर्दै दैनिक छाक टार्ने भएकाेले खाद्य  अधिकारबाट बञ्चिन हुन नदिने र दिर्घकालिन रुपमा स्थापित गर्नमा संस्थाले काम गर्दै आएकाे नेगी बताउँछन् । ज्ञापनपत्र बुझ्दै आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले नागरिकहरुका समस्या जिल्लाबाट सम्बोन्धन हुन नसक्ने भएकाले केन्द्रलाई जानकारी गराउने बचन दिएका छन् ।

तपाईको प्रतिक्रिया