वडाध्यक्षको मृत्यु भएपछि रत्न राजमार्ग अवरुद्ध

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्षको मृत्यु भएपछि स्थानीयले रत्न राजमार्ग अवरुद्ध गरेका छन् । भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा आज मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका हुन् ।


दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार सुर्खेत–नेपालगञ्ज र छिन्चु जाजरकोट सडक खण्डको सत्तरी, वडा नम्बर ४ तोलीखोलामा पनि सडक अवरुद्ध गरेका छन् ।

उनका अनुसार कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगञ्जका लागि हिंडेका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् । मृतकका आफन्तहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डीएसपी घर्तीले बताए ।

फागुन ८ गते वडाध्यक्ष कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्करलाई छिन्चुमा नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया