कर्णाली राजमार्गकाे हविगत देखाउने याे दृष्य

जुम्ला । कर्णाली लोकमार्गमा पौष्टिक आहार बोकेकाे मालवाहक ट्रक दुर्घटना हुनबाट जोगिएको छ । कर्णाली लोकमार्गस्थित कालीकोट खण्डको एस मोडमा कर्णाली प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बोकेको ट्रक सडक छेउमा करिब ५० प्रतिशत भाग तल खसेर अड्किँदा दुर्घटनाबाट जोगिएको हो ।

आइतबार दिउँसो नेपालगञ्जबाट आउँदै गरेकाे ना ४ ख २८६० को ट्रक एस मोडमा मोडिने ठाउँ नपुग्दा सडकमै झुन्डिएको थियो । कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार ट्रकको आधा भाग तल खसिसकेको अवस्थामा स्टिलबार र पेटीमा बाँकी भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको छ । दुर्घटनाको खबर पाउने बित्तिकै प्रहररी त्यस क्षेत्रमा पुगेको थियो । चालक सकुसल छन् भने उनको स्वास्थ्य जाँच गर्न पठाइएको छ । कैलाली घर भएका चालक हरिश धामीले चलाएको उक्त ट्रकको आधा भाग सडक तल झरेकाे छ ।

एस मोडको सडक साँघुरो भएका कारण यसअघि पनि ट्रक दुर्घटना भएको थियो । प्रहरीका अनुसार एउटा ट्रक केही बर्षअघि पनि त्यहाँबाट खसेको थियो । कर्णाली राजमार्गमा साँघुरो भएकाले जुनसुकै स्थानमा पनि दुर्घटनाको जाेखिम भएकाे सवारी चालकहरू बताउँछन् । खिडिकी ज्यूलादेखि हुल्म क्षेत्रसम्म तीन मिटर बराबरको पनि सडक नहुँदा कैंयौं स्थानमा दुर्घटनाको जोखिम बढेको छ ।

कर्णाली राजमार्गका जिप चालक इन्द्रबहादुर बिष्टले भने, ‘यो राजमार्गमा चार बर्षदेखि जिप चलाउँदै आएको छु । साँघुरो सडक, धुलो र हिलोले हैरान बनाउँछ । कर्णाली राजमार्गको डुगेश्वरदेखि पालतडासम्मको क्षेत्रमा बर्षौदेखि धुँलो र हिलोले सताइरहेको चालक डाँगीले बताए ।

तपाईको प्रतिक्रिया