सोसल मिडियाबाट ठग्ने समूह पक्राउ

भक्तपुर ।सामाजिक सञ्जालमा जोडिएर विदेशबाटै ठगीमा सक्रिय रहेका समूहको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको छ । नाइजेरिया तथा भारतीय नागरिकले विभिन्न मुलुकमा बसी भाइबर, ह्वाट्स एप, इमो, फेसबुक मार्फत् अनलाइन चिठ्ठा परेको भन्दै ठगी गर्दै आएका छन् । उनीहरुको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको हो ।
विदेशमा रहेर ठगी गर्ने समूहको एजेन्टका रुपमा रही नेपालमा अनलाइन मार्फत् ठगीमा सक्रिय रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन् ।
ठगीमा सक्रिय भएकाहरुको विभिन्न बैंकमा भएको कारोबारको आधारमा प्रहरीले अरु बैंकहरु पनि ह्याक भएको हुनसक्ने जनाएको छ । यो समूहको १७ वटा बैंकमा कारोबार भएको देखिएको छ । त्यसका आधारमा ती बैंकहरु पनि ह्याकरको निसानामा परेको हुनसक्ने देखिएको छ । १७ बैंकबाट यो समूहको १४ करोड रुपैयाँको कारोबार भएको देखिनुले अन्य बैंकहरु ह्याक भएको हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार ह्याक र ठगी गरेको रकम नेपाली एजेन्टमार्फत् भारत पठाउने गरेको खुलेको छ । नेपाली एजेन्टले १५ देखि २० प्रतिशत कमिसनमा उनीहरुलाई साथ दिएको देखिएको छ । ४० जना भन्दा बढी नेपालीहरु एजेन्टका रुपमा परिचालित भएको देखिएको छ । एजेन्टले ठगी गरेको रकम कारोबारका लागि प्रयोग भएका बैंकको सिस्टम ह्याक भएर रकम झिकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया