वाणिज्य बैंक जुम्लाका पूर्व म्यानेजरसहित चार जना विरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडाैं । सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेण्टी राख्ने कार्यमा संलग्न तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजरसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीसमेत चार जना व्यक्ति र ३ वटा निर्माण कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारबाट जारी विज्ञप्ति अनुसार सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेश्की लिन विटी/टौदह/फस्कु जेभीले गलत लिखत तयार पारी राष्ट्रिय वाणिज्य बैंक जुम्लामा बुझाएको र उक्त लिखत गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि बैंकका म्यानेजर लाभ लिएर स्वीकृत गरेको उल्लेख छ ।

१९ लाख ५० हजार रुपैयाँ पेस्कीसमेत लिइसकेको उक्त अवस्थामा अनुसन्धान हुँदा गलत लिखत तयार पारिएको पाइएकाले गलत लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । ठेक्का नम्बर ०३–०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले विटी/टौदह/फस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्बर २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार पारेको अख्तियारले जनाएको छ ।

गलत लिखत तयार पार्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ । उक्त ऐनमा ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

त्यस्तै गलत लिखत तयार पार्ने कार्यमा संलग्न विटी/टौदह/फस्कु जेभीका सदस्यहरु माधव प्रसाद भण्डारी, टौदह कन्सट्रक्सनका प्रतिनिधि पुन्न बहादुर शाही र फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकीविरुद्ध पनि मुद्दा लगेको छ ।

तपाईको प्रतिक्रिया