समयका पक्का कर्णालीका मुख्यमन्त्री

'समयमा कार्यक्रममा उपस्थित नहुने अतिथि होइनन्, बेतिथि हुन्'

सुर्खेत । वीरेन्द्रनगरको शुभ होटलमा बिहीबार कर्णाली प्रदेशस्तरीय वित्तिय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम हुँदैथियो । आयोजकले कार्यक्रमको प्रमुख अतिथिका रुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई निम्त्याएको थियो ।


कार्यक्रम उद्घाटनका लागि आयोजकले ११ बजेको समय मागेको थियो । मुख्यमन्त्री शाही १०ः५५ बजे कार्यक्रमस्थल पुगे । मुख्यमन्त्री कार्यक्रमस्थलमा पुग्दा सहभागी त थिएनन्नै आयोजकको पनि उपस्थिति त्यहाँ देखिएन् । मुख्यमन्त्री ११ः०५ बजेसम्म कार्यक्रमस्थलमा बसेर फर्किए ।

शनिबार नेपाल दलित संघको कर्णाली प्रदेशस्तरीय प्रथम सम्मेलन हुँदैथियो । १०ः३० बजेका लागि तय भएको कार्यक्रममा मुख्यमन्त्री शाही १०ः२५ मा कार्यक्रमस्थल पुगिसकेका थिए । मुख्यमन्त्री शाही कार्यक्रमस्थलमा पुग्दा कांग्रेस केन्द्रीय सदस्य सीता राना, कर्णाली प्रदेश सभापति ललितजंग शाही, उपसभापति कालिबहादुर सहकारी, दलित संघका केन्द्रीय सचिव तथा प्रदेश संयोजक दीपक सोनी, दलित संघ सुर्खेतका अध्यक्ष भिमबहादुर शाही र खगेन्द्र सुनार मात्रै उपस्थित थिए ।

मुख्यमन्त्री पाँच मिनेटसम्म सहभागीको पर्खाइमा बसे । त्यति बेलासम्म पनि कोही नआएपछि आयोजकलाई कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । खगेन्द्र सुनारले कार्यक्रमको उद्घोषण गरे । आसनग्रहण कार्यक्रम सुरु भयो । मुख्यमन्त्रीले पानसमा दियो बाले, ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे । दलित संघ सुर्खेतका अध्यक्ष भिमबहादुर शाहीले स्वागत मन्तव्य राखे ।

उनले समयमै कार्यक्रममा सहभागीलाई उपस्थित गराउन नसक्दा दुःख लागेको बताए । ‘कर्णाली प्रदेशले मुख्यमन्त्रीका रुपमा शाहीलाई पाएसँगै समयको महत्वका बारेमा बुझ्ने मौका पाएका छौं,’ उनले भने, ‘आगामी दिनमा समयको महत्व बुझेर समयमै कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।’

मुख्यमन्त्रीका रुपमा कर्णालीको नेतृत्व सम्हालेसँगै मुख्यमन्त्री शाहीले समयको विशेष ख्याल गर्ने गरेका छन् । उनी तोकिएको समयभन्दा केही मिनेट अघिनै कार्यक्रमस्थल पुग्छन् । समयमा कार्यक्रम सुरु नभए फर्किहाल्छन् । मन्त्रिपरिषद् बैठक हरेक बुधबार चार बजे बस्छ । समयमै सबै मन्त्रीहरु पुग्छन् । ‘समय जीवन हो, समय पैसा हो’ मुख्यमन्त्री शाहीले आफु उपस्थित भएका हरेक कार्यक्रममा भन्ने गर्छन्, ‘समयसँगै नहिँडेकै कारण कर्णाली पछाडि परेको हो, त्यसैले समयको ख्याल गरौं ।’

मुख्यमन्त्री शाही उपस्थित कार्यक्रममा आयोजकले स्वागत मन्तव्य राखेपछि आउने विशिष्ट व्यक्तिहरुलाई अथिति बनाउन पनि आग्रह गर्नेछन् । ‘समयमा नआउनेहरु अतिथि होइनन्, बेतिथि हुन्,’ उनले भन्ने गर्छन्, ‘सबैलाई समयको महत्वको महशुस गराउन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया