यथास्थानमै विमानस्थल विस्तार गर्न उद्योग वाणिज्य संघकाे माग

सुर्खेत । निजी क्षेत्रले सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अगाडि बढाउन माग गरेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घले खारेज भएको विमानस्थल विस्तारको योजना पुनः अगाडि बढाउन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशले पनि विज्ञप्ति जारी गरी विमानस्थल विस्तारको काम अगाडि बढाउन आग्रह गरेको छ ।

फागुन २२ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीय प्रभावितबीच भएको छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैँका लागि खारेज गर्ने सहमति भएको थियो । हाल एक हजार २५५ मिटर लम्बाइ रहेको सुर्खेत विमानस्थलको धावनमार्ग ३०० मिटर थप गर्ने योजना तयार गरिएको थियो ।

धावनमार्ग विस्तार गर्दा विद्यालयसहित सयौँ घर हटाउनुपर्ने र मुआब्जामा मात्रै ठूलो रकम लाग्ने भएपछि धावनमार्ग विस्तारको प्रक्रिया सधैँका लागि खारेज गर्ने निर्णय भएको विमानस्थल प्रभावित नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले बताए । गत आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि केन्द्र सरकारले ५१ लाख र प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट छुट्याएका थिए ।

धावनमार्ग साँघुरो हुँदा हवाई सेवाको भाडा महँगो भएको, अर्को प्रदेशबाट सेवा प्रयोग गर्नुपरेको र आर्थिक गतिविधिलाई पनि अवरोध पु¥याएकाले विमानस्थलको विस्तार हुनुपर्ने सङ्घको माग छ । समग्र कर्णाली प्रदेशको आर्थिक विकास, पर्यटन क्षेत्रको विकासका लागि सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउनुको विकल्प छैन भन्दै सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव लक्ष्मण कँडेलले त्यसका लागि सबैले पहल गर्न अपिल गरे ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले पनि शनिबार नै एक विज्ञप्ति प्रकाशित गरी विमानस्थल विस्तारमा ठूलो धनराशि खर्च हुने र प्राविधिक रूपले उपयुक्त नभएको कारण देखाएर धावनमार्ग विस्तारको काम रोकेकामा विकास नचाहने मनोवृत्ति भएको भन्दै विरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया