काठमाडौं : साउदी अरबले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ।
साउदी अरबले यस्तै अपराधमा संलग्न भएको अभियोगमा अहिलेसम्मकै उच्च संख्यामा मृत्युदण्ड दिएको हो। शनिबारको फैसलाले एक दिनमा साउदीमा यस पहिले उच्च रेकर्ड गरिएको मृत्युदण्डको रेकर्ड तोडेको छ।
यस अघि सन् २०२१ मा कूल ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइँने सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ।
उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेका आतंकवादी संगठनहरूमा आवद्ध रहेको जनाइएको छ।
अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएको अदालतको फैसलामा जनाइएको छ।
मृत्युदण्ड पाउने ८१ जनामध्ये ७३ जना साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए। मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए।
एजेन्सी । २०७८ फाल्गुन २९, आईतवार