सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निमार्णधिन राष्ट्रिय गौरवको आयोजना प्रदेश रंगशालाको सिट क्षमता बढाउन गठित कार्यदलले अध्ययन शुरु गरेको छ । खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालको संयोजकत्वमा गठित कार्यदलले आवश्यक जग्गा प्राप्तीका लागि वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयसँग परामर्श शुरु गरेको हो ।
समितिले रंगशालाको सिट क्षमता वृद्धि गर्न आवाश्यकता, सम्भाव्यता र उपयुक्तताको अध्ययनका लागि सोमबार विश्वविद्यालयका उपकलपति प्रा.डा. नन्दबहादुर सिंहसँग छलफल गरिएको छ । हाल १० हजार दुई सय जना अट्न सक्ने सिट क्षमता रहेको रंगशालाको क्षमतालाई वृद्धि गरेर १५ हजार दर्शक अट्ने बनाउन आवश्यक जग्गाको प्राप्तीका लागि यहीँ फागुन २० गते कार्यदल गठन गरिएको हो ।
हाल बनिरहेको रंगशालामा नगरपालिका र विश्वविद्यालयले थप जग्गा दिएमा १५ हजार दर्शक अट्ने रंगशाला बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएका छ । त्यसका लागि रंगशालाको उत्तरतर्फ रहेको वीरेन्द्रनगर नगरपालिकाले १० देखि १५ मिटर र पश्चिमतर्फ एमयूले १५ मिटर जग्गा उपलब्ध गराएमा १५ हजार क्षमताको बनाउन सकिने परिषदका उपाध्यक्ष एवम् कार्यदलका संयोजक हमालले नेपालीरैबारलाई जनाकारी दिए । उनकाअनुसार प्रारम्भिक छलफलका क्रममा नगरपालिकाले जग्गा दिने कुरामा सहमति जनाए पनि एमयुले १५ मिटर जग्गा दिनेमा भने ठोस जवाफ दिएको छैन् ।
‘आज विश्वविद्यालयका उपकुलपति सिंह र रजिष्टार डा. नारायण पौडेलसहितको टोलीसँग छलफल भएको छ, तर ठोस जवाफ आएको छैन्,’ हमालले भने, ‘कर्णालीको खेलकुदको विकासका लागि कोसेढुंगा मानिएको रंगशाला निर्माणमा उहाँहरुको साथ हुनेमा कार्यदल विश्वस्त छ ।’
कार्यदलमा सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख जहरवाल हमाल, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका ईन्जिनियर भुपेन्द्र जैशी र मध्यपश्चिम विश्वविद्यालयका ईन्जिनियर संयोजक छन् । कार्यदललाई चैत्र ५ गतेसम्म रंगशालाको क्षमता थप गर्नुपर्ने लागतसहितको प्रतिवेदन पेश गर्नेछ । गत मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको कुल बजेट एक अर्ब ५८ करोड ४७ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नेपालीरैबार । २०७८ फाल्गुन ३०, सोमबार