महिला जेसीजद्धारा छात्राहरूलाई आत्मसुरक्षा तालिम

सुर्खेत । सुर्खेत महिला जेसीजले शुरू गरेको आत्मसुरक्षा तालिम समापन भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेत महिला जेसीजले पाँच दिनसम्म सुर्खेतका विभिन्न विद्यालयमा आत्मसुरक्षा तालिमको आयोजना गरेको थियो ।

जेसीजका अध्यक्ष मनिषा कौशलका अनुसार फागुन २३ गतेबाट शुरू भएको आत्मसुरक्षा तालिम सोमबार सम्पन्न भएको हो । यस्तै, कार्यकारीणी उपाध्यक्ष सीता भण्डारीले २३ गते श्रीकृष्ण संस्कृत तथा साधारण मावि, २६ गते नेपाल राष्ट्रिय मावि, २७ गते शिव मावि, २९ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालय र ३० गते हरिडिलभूमि माविमा आत्मसुरक्षा तालिम दिइएको जानकारी दिइन् ।

तालिम दिइएका यी विद्यालयमा करिब एकसय ५० जना छात्राहरू आत्मसुरक्षा तालिम लिएका छन् भने आत्मसुरक्षा तालिममा कराँते सिकाइएको थियो । जसको प्रशिक्षकको भूमिका सोना थापाले निभाएकी थिइन् ।

तपाईको प्रतिक्रिया