गण्डकी पुगेर भौतिक मन्त्री रोकायाले कर्णाली आउन निम्तो दिए

सुर्खेत । कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले कर्णाली प्रदेश जल, जंगल र जडिबुटीसँगै प्राकृतिक सौन्दर्यमा धनी रहेको भन्दै सबैलाई कर्णाली हेर्न आउन निम्तो दिएका छन् ।

मंगलबार पोखरामा सम्पन्न अन्तर प्रादेशिक बैठकमा बोल्दै मन्त्री रोकायाले यस्तो बताएका हुन् । पूर्वाधार निर्माण र यातायात सेवा प्रवाहमा विद्यमान समस्या र समस्या समाधानको प्रयास सम्बन्धी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा सम्पन्न अन्तर प्रादेशिक बैठकमा मन्त्री रोकायाले कर्णाली प्रदेश जल, जंगल र जडिबुटीसँगै प्राकृतिक सौन्दर्यमा धनी रहेको दावी गरे ।

बैठकमा आफ्नो भनाइ राख्दै मन्त्री रोकायाले पछिल्लो समय कर्णाली प्रदेशले विकासमा फड्को मार्दै गरेको अवगत गराए । पोखरा जस्तै कर्णालीमा पनि रारा ताल, सेफोक्सुण्डो र कुपिण्डे जस्ता धेरै पर्यटक लोभ्याउने आकर्षणका पर्यटकिय स्थल छन् ।

यीनको संरक्षण र विकासका लागि हामी लागिपरेका छौं’ मन्त्री रोकायाले भने, ‘मेरो कार्यकालमा कर्णालीका सबै जिल्लामा कालोपत्रे सडक बन्ने छन् । सबै क्षेत्रमा भौतिक पूर्वाधारको अभाव हटाउनेछुँ । त्यसैले देशबासी सबैलाई एक पटक कर्णाली घुम्न आउन पनि निम्तो छ ।’

मन्त्री रोकायाले कर्णालीको विद्यमान विकासको अवस्थाबारे चर्चा गर्दै आगामी बर्षदेखि सबै समस्या समाधान हुदै जानेमा आवश्वासन व्यक्त गरे । गण्डकीको पोखारा जस्तै कर्णाली पर्यटकिय आकर्षणको दृष्टिले निकै अघि रहेको भन्दै कर्णालीको विकाससँगै प्राकृतिक सौन्दर्य हेर्न आउन उनले सबै प्रदेशका मन्त्रीहरुलाई निम्तो दिएका हुन् ।

तपाईको प्रतिक्रिया