काठमाडौं । अस्ट्रेलियाको हिमालमा ६ वर्षसम्म हराएको एउटा भेडा शरीरमा ८८ पाउन्ड (करिब ४० किलो) को ऊनसहित फेला परेको छ । भिक्टोरिया पशु आरक्षण एडगरको मिसनका मालिक पाम अहेर्नले हालसालै माउन्ट अलेक्ज्यान्डरमा पर्वतारोहीले भेडा फेला पारेको भनेर फोन आएको बताइन् ।
एलेक्स नाम दिइएको भेडालाई फेला पारेको ठाउँमै ठूलो सम्मान दिइएको थियो । यो भेडा एउटा पाठो भएको समयमा बारम्बार फार्मबाट फुत्कने गरेको थियो र कम्तीमा पनि ६ वर्षसम्म यसको शरीरको रौँ खौरिएको थिएन ।
‘हामी भएठाउँ आउँदा उसको शरीरमा ४० किलो ऊजन थियो,’ अहेर्नले अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पसँगको कुराकानीमा भनिन्, ‘उसको शरीरमा पिसाब, लट्ठी अड्किएका थिए । जिउ भरी किरा थिए । यो दृश्य साह्रै पीडादायी थियो ।’
एलेक्सको ऊन यति जेलिएको थियो कि यो काट्न विशेषज्ञलाई नै बोलाउनुपरेको अहेर्नले बताइन् । ‘होली मध्यरातमा आइन् र करिब एक घण्टा लगाएर ऊन निकालिन्,’ उनले भनिन् । ‘स्थिति निकै नाजुक थियो । यदि हामीले रातभरीमा ऊन ननिकालेको भए, एलेक्सलाई भोलि बिहान देख्न मुश्किल पर्नेथियो जस्तो मलाई लाग्छ । ’ ऊन खौरिने काम गरेकी होलीले एलेक्सको स्वास्थ्यमा त्यसपछि तत्काल सुधार देखिएको जानकारी दिइन् ।
एजेन्सी । २०७८ चैत्र ५, शनिबार