माओवादी दलको सदस्यबाट विष्ट निष्कासित

सुर्खेत । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सुचित गरिन्छ ।’

एमालेमा प्रवेश गर्दै

यस्तै, विष्ट आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन ।

विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ । प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए । योसँगै महत्वपूर्ण पदमा बसेका व्यक्ति नै एमालेमा जान लागेपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ ।

तपाईको प्रतिक्रिया