कर्णालीमा विकासलाई तिब्रता दिन लगानी योजना तयार गरिने

सुर्खेत । कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्ने भएको छ । भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणको लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको हो ।

प्रदेशमा सडक सञ्जालको विकास तथा विस्तार कार्यलाई तिब्रता दिन लगानी योजना तयार गर्न लागिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले बताए । उनका अनुसार लगानी योजनाबारे आइतबार स्वीटजरल्याण्ड सरकारका महामहिम राजदूत एलिजाबेथ भाेन क्याप्लर  र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग छलफल गरिएको छ ।

मोटरेवल स्थानीय सडक पुल कार्यक्रमको निर्देशन समितिको बैठकका अवसरमा स्वीस राजदूत र मुख्यमन्त्री शाहीसहित भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा पूर्वाधार विभागका प्रतिनिधिसँग छलफल पनि गरिएको हो । छलफलमा बोल्दै स्वीस राजदूत जोन हडाले कर्णालीको विकास निर्माणबारे चासो व्यक्त गर्दै समन्वय गरेर काम गर्ने बताइन् ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासलाई तिब्रता दिन प्राथमिकतामा आधारित लगानी योजना महत्वपूर्ण रहेको बताए । साथै उनले लगानीको चिन्ता नगरी विकास निर्माणका योजना कार्यान्वयनमा कर्मचारीलाई लापारवाही नगर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया