सेवामा अब्बल बन्दै प्रदेश अस्पताल, सुर्खेतमै हिपजोर्नीको सफल शल्यक्रिया

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कालागाउँमा रहेको प्रदेश अस्पतालले स्वास्थ्य सेवा उल्लेख्य उपलव्धी गर्दै उदाहरणीय बन्न थालेको छ । नागरिकप्रति सेवालाई सस्तो र सर्वसुलभ बनाइरहेको अस्पतालले पछिल्लो पटक जटिल प्रकृतिका शल्यक्रियाहरु सुर्खेतमा गरिरहेको हो ।


मंगलबार मात्रै अस्पतालले एक महिलाको हिपजोर्नीको सफल शल्याक्रिया गरेको छ । प्रदेश अस्पतालका हार्डजोर्नी विशेषज्ञ एवम् प्रवक्ता डा. विकास केसीसहितको टोलीले २६ वर्षीय महिलाको जटिल प्रकृतिको शल्यक्रिया सफलतापूर्वक गरेको हो । हिपजोर्नीको हड्डी खिएको समस्याबाट ग्रास्त वीरेन्द्रनगरकी ति महिलाको शल्यक्रिया सफल भएको डा. केसीले बताए ।

हिपजोर्नीको सफल शल्यक्रिया गरेर कृत्रिमजोर्नी राखिएको केसी बताउँछन् । ‘यो शल्यक्रिया भनेको हाडजोर्नीकै मुख्य र महत्वपूर्ण शल्यक्रिया हो,’ डा. केसीले भने, ‘विषेशगरी यस्तो समस्या जन्मजात, बंशाणुगत गुण, बाथ रोग वा कुनै बेला चोटपट्का कारण हिपजोर्नी समस्या देखिन्छ, तर हाम्रो टिमले सफल शल्यक्रिया गरेको छ ।’

अप्रेशन गरिएको महिलाको जोर्नी भने सिकलसेल रोगका कारण सुकेको केसी बताउँछन् । ‘त्यहीँ जोर्नी पूनः काम गर्न सक्ने अवस्था थिएन अप्रेशनबाट त्यसलाई हटाएर कृत्रिमजोर्नी फेरिएको हो,’ डा. केसीले नेपालीरैबारसँग भने, ‘यस्तो प्रकृतिको शल्यक्रिया बुटवलदेखि यता पश्चिम नेपालका कुनै पनि अस्पतालमा नहुने र प्रदेश अस्पतालमा तेस्रो पटक सफल अप्रेशन गरिएको हो ।’

डा. केसीकाअनुसार गत कार्तिकमा दुई जनाको हिपजोर्नीको सफल शल्याक्रिया गरिएको थियो । सिकलसेल रोग प्रायः बाँके, बर्दिया, कैलाली र सुर्खेतका चौधरी समुदायमा बढी देखिने गरेको अस्पतालले जनाएको छ । यो रोगको उपचार उमेर र सामाग्रीको आधारमा खर्च लाग्ने गरेको छ । स्वास्थ्य विमा नगरेकाको हकमा बढीमा चार लाख र विमा गरेको बिरामीको हकमा एक लाख रकम कम गरेर तीन लाखखर्च लाग्ने डा. केसीले बताए ।

‘प्रदेश अस्पतालमै जटिल प्रकृतिका विरामीहरुको सहज शल्यक्रिया र उपचार भइरहेकाले सुर्खेत बाहिरै जानुपर्छ भन्ने सोच बदल्न जरुरी छ,’ डा. केसी भन्छन्, ‘विशषेज्ञसहितको सेवा आँगनकै अस्पतालबाट प्रदान भइरहेकाले यहीँबाट सर्वसुलभ सेवा लिनमा कञ्जुसाइ नगर्न सबैमा अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया