सुर्खेतमा मानवीय सहायता केन्द्र सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा विपद्का बेला आइपर्ने समस्या समाधानका लागि प्रादेशिक मानवीय सहायता स्थल सञ्चालनमा ल्याइएकाे छ । सहायता स्थलको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र विश्व खाद्य कार्यक्रम नेपालका निर्देशक राेवर्ट कास्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्राकृतिक विपत्ति आइपर्दा मानवीय सहायता छिटोभन्दा छिटो प्रदान गर्नमा सहयोग पुग्ने उद्देश्यले ‘मानवीय सहायता स्थल’ शुक्रबारदेखी सञ्चालनमा ल्याइएकाे छ । गृह मन्त्रालयकाे समन्वयमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) काे सहयाेगमा पहिलो पटक सुर्खेतमा सहायता स्थल निर्माण गरिएकाे हाे ।

झण्डै सात सय ५० मेट्रिक टन बराबरको मानवीय सहायता सामग्री भण्डारण गर्न सक्ने क्षमता रहेको यस सहायता स्थलबाट राहत उपलब्ध गराउन सक्ने क्षमताको रहेको डब्लुएफपीकी सञ्चार अधिकृत माेनिका उपाध्यायले जानकारी दिइन् ।

मानव स्थलमा आश्रय सामग्री, स्वास्थ्य तथा स्वच्छता किट्स, पानी सरसफाइ सम्बन्धी उपकरण, बन्दोबस्तीका सामान, इन्धन भण्डारण, सेटलाइट फोन, खोज तथा उद्धारका काममा प्रयोग हुने उपकरणहरु राखिएकाे छ । विपद् बाजा बजाएर नआउने भन्दै विपद् आइहालेमा आपत्कालीन तयारीमा गरिने लगानी, समय र जीवन दुवैको बचत गर्न विश्वका धेरै देशहरुमा यस खालको सहायता स्थल राखिने गरेकाे उपाध्यायकाे भनाइ छ ।

यस किसिमको सहायता स्थलमा पहिलो पटक काठमाडौंको विमानस्थलमा निर्माण गरिएको थियो । २०७२ को भूकम्प आउनु अघि एक महिना अघि मात्रै पूर्ण तयारी अवस्थामा रहेको सहायता स्थलबाट तत्काल हजारौं भूकम्प पीडितलाई राहत सामग्री पु¥याउन सकिएको डब्लुएफपीले जनाएको छ ।

काठमाडौंको पछि प्रादेशिक सहायता स्थल सुर्खेतमा पनि स्थापना गरिएकाे हाे । उद्घाटन कार्यक्रममा बाेल्दै कर्णालीका मुख्यमन्त्री शाहीले कर्णालीमा वर्षेनी विपद्का घटनाले आक्रान्त बनाउँदै आएकाले आगामी दिनहरुमा आपतकालिन घटनामा केन्द्रबाट मानवीय सहायता प्रदान गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले नै सबै काम गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारकाे समन्वयमा डब्लुएफपीले कर्णाली केन्द्रकाे स्थापना गरेकाे दातृ निकाय धन्यवाद प्रकट गर्दछु ।’ कर्णालीमा वर्षेनी प्राकृति विपत्तीबाट सयौं नागरिक ज्यान गुमाउने गरेका छन् भने करौडौं धनजनकाे क्षति हुने गरेकाले फेरि आपतकालिन घटनामा तत्काल मानवीय सहायता प्रदान गर्नमा कर्णाली सरकारले पनि अपनत्व लिनेगरी लगानी गर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया