प्रदेश अस्पताल परिसरमा देखिएकाे तस्वीर भित्रकाे सत्यता के हाे ?

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरस्थित कालागाउँमा रहेकाे प्रदेश अस्पताल परिसरकाे एक दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । तस्वीरमा कुकुरले शिशुकाे शव च्यापेर अस्पताल परिसरमा हिडिरहेकाे देखिन्छ । उक्त दृष्य वीरेन्द्रनगरका स्थानीय युवा हरि कँडेलले खिचेर सामाजिक सञ्जाल फेसकुबकमा राखेका थिए ।

तस्वीरबारे अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सामाजिक सञ्जालमा प्रदेश अस्पलताबारे भ्रम फैलाउने खालका स्टाटसहरुसँगै भिडियाे बनाउँदै प्रचार गरिएकाे छ । अस्पताल परिसरमै कुकुरले शिशुकाे शव च्यापेर हिडिरहेकाे दृष्य बारे अस्पतालकाे चरम लापरवाही भनेर अपव्याख्या गरिएकाे छ । तर तस्वीरकाे सत्यता बारे कसैले खुलाउन सकेका छैनन् । तस्वीर बारे समग्र अस्पतालकाे काम माथि नै प्रश्न उठाउँदै अफवाह फैलाउनमा मात्रै उद्धत देखिन्छ । कतिपयले त अस्पतालमा प्रसुति वार्डबाटै कुकुरले वच्चा ल्याउँदा समेत अस्पताल प्रशासन रमिते बनेकाे भन्न समेत भ्याएका छन् ।

सामाजिक सञ्जालमा प्रसुती वार्डबाटै कुकुरले शिशु लिएकाे अफवाह फैलाइएकाे छ । तर माथिकाे तस्वीर नम्बर एकमा कुकुरले अस्पताल हाता भित्र रहेकाे जंगल क्षेत्रबाट ल्याएकाे प्रस्टै हुन्छ । किनकी कुकुरले जंगल क्षेत्रमाबाट ल्याएकाे उसकाे घाँटीकाे भागमा लागेकाे दब्सु अर्थात् ज‌ंगली कुराे लागेकाे देखिन्छ ।

अस्पतालका चारैतर्फ पर्खाल रहेकाले झाडी क्षेत्रमा कुकुरले शिशुकाे शव भेटाएर खुला ठाउँमा ल्याएकाे अस्पताल प्रशासन जनाएकाे छ । तर प्रारम्भीक अनुसन्धानका क्रममा अस्पतालकाे उत्तरी क्षेत्रमा रहेकाे फिस्टुला अस्पताल रहेकाे जंगल क्षेत्रबाट कुकुरले टाउँकाे नभएकाे शिशुकाे शव च्यापेर मुख्य अस्पताल परिसरतर्फ आएकाे सीसी क्यामरामा स्पष्ट देखिएकाे छ ।

‘अस्पतालकाे प्रस्तुती वार्डबाटै कुकुरले शिशु थुतेर ल्याएकाे भन्ने हल्ला गलत हाे,’ प्रदेश अस्पतालका प्रवक्ता डा. विकास केसीले नेपालीरैबारलाई भने, ‘सत्यता बुझ्दै नबुझि अवफाह फैलाउनु गलत हाे, हामीले घटनाका विषयमा गम्भीर भएर छानविन गरिरहेका छाैं ।’

कुकुरले च्यापेको मृत बच्चा कसको हो भन्ने अहिलेसम्म खुल्न नसक्दा अस्पतालले पाेष्टमार्टम समेत गरेकाे छैन् । अस्पतालमा पछिल्ला दिनमा कुनै पनि शिशुकाे मृत्यु नभएकाे र सुरक्षित गर्भपतन गर्न काेही नआएकाे प्रवक्ता केसी बताउँछन् ।

‘गर्भपतन गर्न यति ठूलाे शिशुकाे मिल्दैन, अस्पतालकाे पछिल्लाे रेकर्डमा गर्भपतन गरिएकाे रेकर्ड समेत छैन, यदी गर्भपतन गर्नै परेमा वा अन्य कारणले मरेकाे बच्चालाई व्यवस्थापन गर्दा सालनालसहित डिस्पाेज गर्ने ठाउँमा प्याकिङ गरेर गाडिन्छ,’ केसी भन्छन्, ‘कुकुरलाई धन्यवाद भन्नु पर्छ, कम्तिमा झाडीमा फालेकाे शिशु ल्याएर तथ्य जाच्नमा सहयाेग पुग्याे, अस्पतालबाट यस्ताे खालकाे गम्भीर त्रुटी भएकाे छैन । यस सम्बन्धमा प्रहरीलाई अनुसन्धान गर्न पत्रचार गरिसकेका छाैं ।’

अस्पताल स्राेतकाअनुसार केही दिन अघि एक महिला अस्पतालमा सुत्केरी हुन भएकाे खुलेकाे छ । उनका श्रीमान राेजगारीमा बाहिर रहेकाे र जन्मिएकाे बच्चा चार दिन अस्पतालकाे आइसीयूमा राखेर उपचार गरिएकाे प्रसुती वार्ड स्राेतले जनाएकाे छ ।

‘आइसीयूमा चार दिनसम्म राख्दा पनि शिशुकाे स्वास्थ्य अवस्थामा सुधार नआएपछि मृत्यु भएकाे हाे,’ स्राेतले भन्याे, ‘श्रीमान राेजगारीमा गएकाे र श्रीमान नहुँदै शिशु जन्मिएपछि आमाले अलि अप्ठेराे महशुस गरिराख्नु भएकाे थियाे । उहाँले नै गाउँमै लगेर आफै अन्त्यष्टी गर्छु भनेकाले मृत्यु प्रमाणपत्रसहित डिस्चार्ज गरेका हाैं तर साेही शिशुलाई यतै जंगलमा फालेकाे हुन सक्ने हाम्राे अनुमान छ ।’

तर ति सुत्केरी महिला अस्पतालबाट डिस्चार्ज भइसकेकाे रेकर्ड अस्पतालसँग छ । उनकाे सबै ठेगाना अस्पतालसँग रहेकाले शिशुबारे खाेजी भएकाे तर मृत्यु भएकाे शिशुलाई गाउँमै अन्त्यष्टी गरिसकेकाे जानकारी प्राप्त भएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

यस विषयमा पनि अस्पतालले प्रहरीलाई जानकारी गराइसकेकाे छ । अस्पताल प्रशासनले यो विषयमा छानबिनका लागि प्रहरीलाई जानकारी गराइसकेकाले सत्य कुरा अनुसन्धानपछि खुल्ने जनाएकाे छ । बच्चाको शव अस्पताल हाताभित्रकै जंगलमा फालिएको र कुकुरले उठाएर हिँडेको हुनसक्ने  अस्पतालले जनाएकाे छ । प्रहरीको प्रतिवेदनका आधारमा मात्रै घटनाको सही विवरण आउने प्रवक्ता केसीले बताए ।

तपाईको प्रतिक्रिया