वीरेन्द्रनगर जनप्रतिनिधिका पाँच वर्ष : धेरै पूरा केही अधुरा

सुर्खेत। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधीका पाँच वर्षे कार्यकाल आउँदो बैशाख ३० गतेबाट सकिदै छ । पाँच वर्षे कार्यकाल सकाउँन लागेका जनप्रतिनिधीले चुनावमा गरेका बाचा अनुसार काम गर्न नसकेको आरोप खेपिरहेका छन् । जनप्रतिनिधीले चुनावमा उठाएका मुख्य मुद्दा नै ओझेलमा परेको आरोप लाग्ने गरेको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी निर्वाचित भए ।

यस्तै, नेकपा एमालेबाट उपप्रमुखमा मोहनमाया ढकाल निर्वाचित भएकी थिईन । सुवेदी र ढकालको पाँच वर्षे कार्यकाल बैशाख ३० गते सकिदै छ । दुई फरक पार्टीबाट निर्वाचित भएपनि सुवेदी र ढकालका चुनावी प्रतिवद्धता पूरा भएका छन् । २०७४ को निर्वाचनमा सुवेदी र ढकालको साझा एजेण्डा नगरको दीर्घकालिन गुरुयोजना निर्माण र कार्यान्वयन तथा सुर्खेतलाई राजधानी तोक्नु थियो । तर, प्रदेश राजधानी सुर्खेत भएपनि गुरूयोजनाको काम भने पुरा हुन सकेन् । जसले वीरेन्द्रनगर अुनकुल गुरु योजना नबन्दा वीरेन्द्रनगर कुरुप सहरको रूपमा बदलिदै गएको छ । चुनावी एजेन्डा पुरा गरे पनि वीरेन्द्रनगरलाई दीर्घकालीन प्रभाव पार्ने खालको गुरुयोजना निर्माणमा भने असफल रहे । देश संघीयतामा गएसँगै वीरेन्द्रनगरलाई १६ वडामा विभाजन गरिएको छ । साविकका लाटीकोइली, उत्तरगंगा, जर्बुटा, गढी, रतु र गर्पन गाविस गाभेर वीरेन्द्रनगर नगरपालिका बनाइएको छ । चुनावी एजेण्डा बमोजिम नगरको दीर्घकालीन गुरुयोजना र भेरीको पानी वीरेन्द्रनगरबासीलाई खुवाने लगायतका वाचा पूरा नभए पनि नगरमा जनप्रतिनिधि आएपछिका पाँच वर्षमा विकास निर्माणको काम भने उल्लेख्य भएका छन्, भने केही कार्यान्वयनको चरणमा छन् ।

वीरेन्द्रनगर नगरपालिकाले आफ्नै लगानीमा एक अस्पताल र नौ वटा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरका प्रत्येक वडामा सार्वजनिक शौचालय निर्माण भएका छन् । कोरोना भाईरस संक्रमितको उपचारका लागि स्थापना गरिएको नगर अस्पताल हाल महिला तथा बाल अस्पतालको रुपमा विकास गरिएको छ । प्रदेश सरकारसँग मिलेर उपत्यकाभित्र करिव ५६ किलोमिटर सडक कालोपत्रे गरिएको छ, भने थप सडकहरु कालोपत्रे हुने क्रममा छन् । वीरेन्द्रनगरका १५, १६ नं. वडामा पूर्ण विद्युतिकरण गर्न नगरपालिका सफल भएको छ । बाँकी विद्युत नपुगेका ठाउँहरुमा विद्युत लाईन विस्तार हुने क्रम जारी छ ।

वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्नका लागि करिव एक करोड लागतमा काम अगाडि बढिसकेको छ । वीरेन्द्रनगरलाई साइकल नगर बनाउँनका लागि प्रकृया अगाडि बढि सकेको छ । यस्तै सिटी बसपार्कको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । बजार क्षेत्रभित्र विद्युत तथा अन्य लाइनका तारहरु व्यवस्थित गर्ने कार्य सुरु भई सकेको छ । यस्तै मंगलगढी–गणेश चोकसम्मको सडक फराकिला गर्नका लागि ठेक्का सम्झौता भई काम अगाडि बढ्ने चरणमा छ, भने ६१ करोडको लागतमा प्रदेशकै गौरवको आयोजना प्रदेश रंगशाला निर्माणको कार्यले तीव्रता लिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण गरेको आठ सय जना अट्ने क्षमताको सिटी हल नगरपालिकाले सञ्चालनमा ल्याएको छ । यस्तै, वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा विश्राम स्थल निर्माण गरिएको छ । सडकमा सौर्य बत्ती जडान गरिएका छन् । काँक्रेविहार, बुलबुले, गढीलगायतका पर्यटकीय स्थलहरूमा पहुँचमार्ग र भौतिक संरचना निर्माण तथा पर्यटकीय गुरुयोजना निर्माणसहितको पर्यटन नक्सा तयार पारेको छ ।

कृषि उद्यमीलाई प्रवद्र्धन गर्नका लागि विभिन्न दातृ निकायहरूसँगको सहकार्य र सहयोगलाई अघि बढाइएको छ, भने महिला स्वारोजगार कार्यक्रम अन्तर्गत महिलालाई विभिन्न सिपमुलक तालिमको व्यवस्था गरिएको छ । पाँँच वर्षे कार्यकाल सकिँनै लाग्दा महत्वपूर्ण मानिएको भेरी नदीको पानी लिफ्ट गरेर उपत्यकामा ल्याउने योजना पनि कार्यान्वयनको अन्तिम चरणमा छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले डिजाइन स्टिमेट सम्पन्न भइसकेको र सर्भेको काम सुरु भएको भन्दै भेरीको पानी उपत्यकामा ल्याउनका लागि वैशाख भित्र टेन्डर प्रक्रिया हुने बताए । पाँच वर्षभित्र उपत्यकामा ल्याउने भनिए पनि केही ढिलो भएको सुवेदीलको भनाई छ । भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउन करिव ६ अर्ब रुपैयाँको सम्झौता भई सकेको छ । ढिलै भए पनि आयोजनाले गति लिएपछि भेरीको पानी उपत्यकामा आउने आशा भने पलाएको छ । हाल सुर्खेत उपत्यका खानेपानी आयोजनाले झुप्राखोला, खरीखोला र बरीखोलाबाट ल्याएको पानीले उपत्यकाबासीलाई पानी वितरण गरिरहेको छ ।

दुई फरक दलबाट मेयर र उपमेयरको प्रतिनिधित्व हुँदा विकास निर्माणका काममा कसले स्वामित्व लिने भन्ने विषयमा अरु पालिकामा टकराव र द्वन्द्व देखिए पनि वीरेन्द्रनगरमा भने त्यसो भएन । आफूले अघि सारेका प्रायः एजेण्डाहरु पूरा भएको, केही कार्यान्वयनको चरणमा पुगेको तर, केही योजना आफ्नो पाँच वर्षे कार्यकालमा पूरा हुन नसक्दा दुख लागेको नगर उपप्रमुख मोहनमाया ढकाल बताउँछिन् । नगरपालिकाले २५ वर्षे गुरुयोजनाका लागि खेतीयोग्य जमिन र घरको नक्सापासमा लामो समय रोक लगायो । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले पूर्णरूपमा गुरुयोजना निर्माणको काम गर्न नसकिएको स्विकारे ।

‘सैद्धान्तिक आधारबाट गुरुयोजना तयार भए पनि कृषि र बस्ती क्षेत्र छुट्टयाउन सकिएन,’ उनले भने, ‘केही काम त ग¥यौँ तर पूर्ण रूपमा कार्यान्वयन गर्न सकेनौं ।’ जनप्रतिनिहरूले घोषणापत्रमा वाचा गरेका कामलाई महत्व दिए पनि प्रत्यक्ष रूपमा नगरबासीको चाहना भने पूरा गर्न नसकेको बताएका छन् । राजधानीको सुविधा सम्पन्न नगरपालिका भएकाले चुनावी प्रतिवद्धता भन्दामाथि उठेर नगरबासीको मागलाई प्राथमिकता दिनुपर्ने भएपनि त्यसो हुन नसकेको गुनासो रहँदै आएको छ ।

जनप्रतिनिधिलाई काम गर्ने ठूलो अवसर हुँदाहुँदै पनि कुनै काम गर्न नसकेको वीरेन्द्रनगर नगरपालिकाका मेयरका प्रत्याक्षी गेहेन्द्रप्रसाद दाहालको आरोप छ । ‘प्रदेश सरकार नगरभित्रै छ, संघीय सरकारले पर्याप्त बजेट दिएको थियो,’ उनले भने । ‘यति सहज वातावरण हुँदा पनि नगरपालिकाले कुनै काम गर्न सकेन् ।’ उनले नगर अस्पताल बनाए पनि चिकित्सक राख्न नसकेको, फोहर व्यवस्थापनमा चुकेको, खानेपानीको व्यवस्थापन गर्न नसकेको, शिक्षा ऐन बनाए पनि कार्यान्वयन गर्न नसकेको लगायतका आरोप लगाए ।

तपाईको प्रतिक्रिया