मुगु कर्णाली जल विद्युतप्रति चासाे

बाजुरा । जगन्नाथ र स्वामिकात्तिक गाउँपालिकाबीचमा पर्ने मुगु कर्णालीबाट दुुई हजार नौ सय दुुई मेगावाट जलविद्युत उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपाल सरकार जलस्रोत विभागअन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडले हालै गरेकाे स्थलगत पूर्व सम्भाव्यता अध्ययनले यस्तो देखाएको हो ।

विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रमुख सूर्य पाण्डेयको नेतृत्वको स्थलगत अध्ययनबाट फर्केको प्राविधिक टोलीले आयोजनाबारे जानकारी दिँदै सुदूपश्चिम प्रदेश सरकारसँग सो ठाउँसम्म पुग्ने सडकलगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण गरिदिन आग्रह गरेकाे छ ।

प्रदेश सरकारसँगको छलफलमा टोलीले सो जलाशययुक्त आयोजनाको निर्माणस्थल बाँधदेखि पावर हाउस, उत्पादन तथा प्रभावित र लाभान्वित हुने क्षेत्र तथा समुदायबारे विस्तृत अध्ययन गरिएकाे भिडियो देखाएको थियो । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चर्चामा रहेका पश्चिम सेती, पञ्चेश्वर, अपर कर्णालीपछिको तेस्रो ठूलो आयोजना हुनसक्ने विज्ञ टोलीको भनाइ थियो ।

बाजुराको मुगु कर्णालीमा जलाशय निर्माण गरेर उन्नाइस सय दुुई मेगावाट क्षमतामा जलविद्युत उत्पादन गर्न सकिने सो प्रस्तावप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उत्साहित देखिएका छन । उनले छलफलमै आर्थिक, प्राविधिक तथा वाताववणीयलगायतका सबै तवरले आयोजनाको अध्ययन गरेर छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन ।

सुदूरपश्चिममा रहेको जलस्रोत देशकै खानी भएकाले उपभोगमा ल्याउन सके मात्रै नेपाल समृद्ध बन्छ भन्दै उनले भने, ‘प्रदेश सरकार आयोजना स्थलसम्म जाने सडकदेखि आयोजना निर्माणमा लगानी गरेर साझेदारी गर्न तयार छ, हामी आर्थिक र सामाजिक सुरक्षा पनि दिन्छौँ ।’ छलफलमा मुख्यमन्त्री भट्टसँगै आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, प्रमुख सचिव रामेश्वर दङ्गाल, सचिव गङ्गाबहादुर खरेललगायतका उच्चधिकारीको सहभागिता रहेको थियाे ।

तपाईको प्रतिक्रिया