निर्माण गरिएकाे ३० किलाेमिटर सडक प्रदेशलाई हस्तान्तरण

हुम्ला ।  बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुुगुु–हुम्ला जोड्ने सडक प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (र्याप–थ्री)ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चङ्खेलीदेखि हुम्ला जिल्लाको देउलीसम्म निर्माण गरेकाे ३० किलोमिटर सडकखण्ड प्रदेश सरकारलाई हस्तान्तरण गरेकाे हाे ।

हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–१, बोहोरा गाउँमा रहेको चङ्खेली आधार भूत विद्यालयमा आयोजित कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रम मुगु–हुम्ला लिङ्क राेडका टिमलिडर विष्णुराम विष्टले कर्णाली प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख देवी ऐडीलाई हस्तान्तरण गरेका हुन् । उनले निर्माण सम्पन्न भएको ३० किलोमिटर उक्त सडकको अपनत्व र जिम्मेवारी लिनका लागि हस्तान्तरण गरेकाे बताए ।

कार्यक्रमले मुगु जिल्ला सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको देउलीसम्म कुल ६७ किलोमिटर सडक निर्माण सम्पन्न गरेकाे थियो । जसमा मुगु खण्डको ३७ किलो मिटर सडकमध्ये गमगढी–दर्खे २६ किलो मिटर र दर्खे –चङ्खेली ११ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई यसअघि नै हस्तान्तरण गरिसकेको थियो ।

कार्यक्रमका टोली नेता विष्टले गमगढीदेखि देउलीसम्म सडक निर्माण सम्पन्न गर्न एक अर्ब ५७ कराेड ८८ लाख ४६ हजार रुपियाँ खर्च भएको जानकारी दिए । लागतलाई प्रतिकिलो मिटरमा हेर्दा प्रतिकिलो मिटर दुुई कराेड ३५ लाख ६४ हजार रुपियाँ लागेको उनले बताए । जिल्लागत खर्च हेर्दा मुगु खण्डको ३७ किलोमिटर सडकमा ८७ कराेड १९ लाख रुपियाँ र हुम्लातर्फको ३० किलोमिटरमा ७० कराेड ६९ लाख ४६ हजार रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ ।

चङ्खेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले सडकको मापदण्ड पूर्ण रूपमा पालना गरेर निर्माण सम्पन्न गरेकाे यो सडक हस्तान्तरणपछि सरकारको बेवास्ताका कारण मर्मत सम्भार नभएर जीर्ण हुँदै जाने हो कि भनेर चिन्तित भएको बताए । उनले अब कर्णाली प्रदेश सरकारले सडक नियमित सुचारु गर्न र मर्मत सम्भारका लागि जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रमले बनाएको मुगु–हुम्ला लिङ्क सडकको गुणस्तर देख्दा सन्तुुष्ट रहेको र यो सडकको गुणस्तर कायम राखी राख्न प्रदेश सरकारले आवश्यक काम गर्ने र त्यसका लागि आफ्नो मन्त्रालयले कणाली प्रदेश सरकारलाई आवश्यक योजना पेस गर्ने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रतिनिधि विशेष शर्माले बताए ।

सडक बनेर गाडी चल्न सुरु भएकाले आफूहरू खुसी रहेको र अब औषधि उपचार गर्न, गाउँघरमा उत्पादित फलफूल, अन्न, जडीबुटी बिक्री गर्न मुगु सदरमुकाम गमगढी, सिमकोटलगायत देशका विभिन्न सहरमा जान सहज भएको स्थानीयकाे भनाई छ । रिमीकी स्थानीय भियाल्ली ऐडीले सडक बनाउँदा गाउँका मान्छेले राम्रो कमाइ गरेकाे र भारत जानु नपरेकाे बताए । सडक निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि मुगु–हुम्ला सडकमा पर्ने लुम खोला, दर्खे खोला, लेब्रा खोला र मेल्छामखो लामा पुल बनाउने काम सम्पन्न नभएको र यी पुल ग्रामीण पहुँच कार्यक्रमले निरन्तर रूपमा निर्माण गर्ने जनाएको छ

तपाईको प्रतिक्रिया