विद्रोहीको आक्रमणबाट घाइते भएका सुर्खेतका गुरुङकाे कंगाेमा मृत्यु

सुर्खेत । अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट नगरपालिका-१४ का सिपाही अनिल गुरूङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोही मिलिसियाले आक्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् । प्रमुख सेनानी कुँवरको कमाण्डमा ‘कर्डन एन्ड सर्च’को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको छ ।

त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत ती सैनिक घाइते भएका थिए । घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्‍याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया