चार दशकपछि भेरीगंगा र गुर्भाकाेटका १३८ परिवारले पाए लालपूर्जा

सुर्खेत । राष्ट्रिय भूमी आयोग सुर्खेतले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थितिमा आज भेरीगंगा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।


आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा जारी गरिएको छ । गुर्भाकोटमा ६३ तथा भेरीगंगामा २३३ कित्ता जग्गाको पुर्जा वितरण गरिएको थियो । भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौला, जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य लगायतले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौंपछि पुर्जा पाउँदा स्थानीयबासिन्दा निकै खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङ सेवा उपभोग गर्नबाट बञ्चित थिए ।

आयोगका केन्द्रीय अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनुका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए । जग्गाधनी पुर्जाविहिनलाई पुर्जा उपलब्ध गराएर राज्यले सुम्पेको जिम्मेवारी आयोगले पुरा गरेको उनको भनाई थियो । आयोगका सुर्खेत जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारणा राखे ।

जग्गाधनी पुर्जा वितरण कार्यक्रममा भेरीगंगा नगरपालिकाका उप–प्रमुख आचार्यले ४० वर्षदेखि लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा वितरण गर्न पाउँदा गौरवान्वित भएको बताए । “जग्गाधनी पुर्जा वितरण गर्ने चुनावी एजेण्डा पुरा गर्न पाएकोमा हामी खुसी छौं, नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको छ,” उनले भने, “अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनुका साथै पुर्जासमेत प्रदान गर्न पहल गर्छौं ।”

तपाईको प्रतिक्रिया